बालअधिकार कार्यान्वयनमा सबैको साझा जिम्मेवारी : राष्ट्रपति पौडेल
काठमाडाैं, २९ भदाै । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संविधानले बालबालिकाको अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको भन्दै यसका प्रभावकारी कार्यान्वयनका लागि सरकारी तथा गैर–सरकारी निकाय, नागरिक समाज, अभिभावक, विद्यालयलगायत सबै सरोकारवालाको समन्वित भूमिका अपरिहार्य रहेको बताएका छन्।
राष्ट्रिय बालदिवसको अवसरमा देशभरका बालबालिका र अभिभावकलाई शुभकामना दिंदै राष्ट्रपति पौडेलले अझै पनि कतिपय बालबालिका आफ्ना अधिकारबाट वञ्चित रहेको सुन्न पाइने बताउँदै, बालबालिकामाथि हुने अमानवीय व्यवहार, हिंसा र दुव्र्यवहार रोक्न सम्बन्धित सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए।
नेपालले संयुक्त राष्ट्रसंघको बालअधिकारसम्बन्धी महासन्धि (CRC) अनुमोदन गरेको दिन भदौ २९ गते प्रत्येक वर्ष राष्ट्रिय बालदिवस मनाइन्छ। यस वर्षको नारामा ‘बालबालिकामा लगानी : सुरक्षित भविष्यको सुरुवात’ भन्ने संदेश दिइएको छ।
राष्ट्रपति पौडेलले बालबालिकाको हितलाई प्राथमिकता दिँदै समाज र राज्यलाई सचेतपूर्वक काम गर्न आजको दिनले प्रेरणा देओस् भन्ने कामना गरे। उनले सिर्जनात्मक, व्यावहारिक, निःशुल्क र गुणस्तरीय शिक्षा, पौष्टिक आहार, सुरक्षित पिउने पानी र सरसफाइ, आवश्यक खोप, बालमैत्री स्वास्थ्य सेवा, नीति र कानुनी व्यवस्था सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याए।
“घर, विद्यालय र समुदायमा सुरक्षित वातावरण सिर्जना गरेर सबै समूह र समुदायका बालबालिकालाई समान अवसर सुनिश्चित गर्न आजको दिनले मार्गदर्शन गरोस् भन्ने आशा लिएको छु,” राष्ट्रपति पौडेलको भनाइ छ।



