विनाशपछि पुनर्निर्माणले अर्थतन्त्रलाई नयाँ गति
काठमाडाैं, २९ भदाै । जेनजी आन्दोलनका क्रममा गत मंगलबार भएको व्यापक विध्वंशले देशभरका सार्वजनिक तथा निजी संरचनामा खर्बौंको क्षति पुगेको अनुमान छ। यद्यपि, क्षतिको ठ्याक्कै मूल्यांकन भने अहिलेसम्म भएको छैन। आगामी अन्तरिम सरकारले विस्तृत तथ्यांक संकलन गरी पुनर्निर्माणको प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।
विशाल क्षतिपछि दोषी पत्ता लगाई कारबाही गर्नु महत्वपूर्ण भए पनि तत्कालको आवश्यकता भने नष्ट भएका संरचना पुनःनिर्माण हो। “कालो बादलभित्रको चाँदीको घेरा” जस्तै यो विध्वंशलाई पुनर्निर्माणको अवसरका रूपमा लिनुपर्ने आवाज उठिरहेको छ।
यसका लागि अन्तरिम सरकारले पूरक बजेट ल्याउने र विकास निर्माणका अन्य योजनाबाट रकम कटौती गर्नुपर्ने सम्भावना छ। यद्यपि, त्यही खर्चले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्ने अर्थविद्को विश्लेषण छ। लामो समयदेखि सुस्त निर्माण क्षेत्रमा यसले नयाँ ऊर्जा भर्ने देखिन्छ।
सार्वजनिक भवनको पुनःनिर्माण, मर्मत र निजी सम्पत्तिको पुनःस्थापनाले निर्माण सामग्रीको माग तीव्र हुने अपेक्षा छ। रंगरोगन, फर्निचर, काठ, पर्दा, कार्पेट, टायल, पाइप, बिजुलीका सामान, सिसा, इलेक्ट्रोनिक्स, फलाम, सिमेन्टदेखि लत्ता–कपडासम्मको बिक्री बढ्नेछ।
नजिकिँदै गरेको दशैंले निजी घर र व्यवसायिक प्रतिष्ठानले तत्काल मर्मत र पुनःखरीदमा जोड दिने सम्भावना बलियो छ। सरकारी सम्पत्तिको मर्मत–संरक्षण पनि क्रमशः अघि बढ्ने अपेक्षा गरिएको छ।
बजारलाई चलायमान राख्न सरकारले शान्ति–सुरक्षाको प्रत्याभूति दिँदै सकारात्मक माहोल बनाउनु पर्नेमा अर्थतन्त्रका सरोकारवालाहरू एकमत छन्। क्षति बेहोरेका व्यवसायीहरू अझ दह्रो भएर अघि बढ्ने घोषणा गर्दै हुनुका कारण अर्थतन्त्रले छिट्टै पुनःउठान गर्ने आशा देखिएको छ।



