Date

मङ्ल, कार्तिक ११, २०८२
Tue, October 28, 2025

गण्डकीमा जेनजी क्षतिका बीमा दाबी १ अर्ब १३ करोड

गण्डकीमा जेनजी क्षतिका बीमा दाबी १ अर्ब १३ करोड

काठमाडाैं, १ असाेज । जेनजी आन्दोलनका क्रममा निजी सम्पत्तिमा भएको क्षतिपछि गण्डकी प्रदेशभर बीमा कम्पनीहरूमा १ अर्ब १३ करोड ४० लाख रुपैयाँ बराबरको दाबी पेश भएको छ। नेपाल बीमा प्राधिकरणले भदौ ३० गतेसम्म संकलन गरेको विवरणअनुसार प्रदेशभर करिब डेढ सयभन्दा बढी दाबी दर्ता भएका छन्।

क्षतिबापत सबैभन्दा धेरै दाबी हिमालयन एभरेष्ट इन्स्योरेन्समा परेको छ। सो कम्पनीमा ५० करोड रुपैयाँ बराबरका ९ वटा दाबी दर्ता भएको प्राधिकरणले जनाएको छ। त्यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३५ करोड बराबरका ५० दाबी पुगेका छन्।

अन्य कम्पनीहरूमा पनि दाबीको ठूलो रकम दर्ता भएको छ। राष्ट्रिय बीमा कम्पनीमा ७ करोड, सिद्धार्थ प्रिमियरमा ५ करोड, नेकोमा ४ करोड ४५ लाख, आइजीआइ प्रुडेन्सियलमा ३ करोड १५ लाख, ओरियण्टलमा ३ करोड र सानिमा जिआइसी तथा युनाइटेड अजोडमा २–२ करोड रुपैयाँ बराबरको दाबी दर्ता भएको छ। यी कम्पनीहरूमा क्रमशः २०, १५, १६, ३, १३, ११ र ६ वटा बीमालेखमा दाबी पेश भएका छन्।

त्यस्तै एनएलजी इन्स्योरेन्समा ८० लाख बराबरका ६, शिखर इन्स्योरेन्समा ७५ लाखका ५ र नेपाल माइक्रो इन्स्योरेन्समा २५ लाखका ५ दाबी दर्ता भएको छ।

हालसम्म नेपाल इन्स्योरेन्स, नेशनल, प्रभू, प्रोटेक्टिभ माइक्रो, स्टार माइक्रो र ट्रष्ट माइक्रो इन्स्योरेन्समा भने दाबी दर्ता भएको छैन। बीमा प्राधिकरणका अनुसार आन्दोलनकै कारण निर्जीवन बीमा कम्पनीहरूमा आगामी दिनमा अझै अरबौं रुपैयाँ बराबरका दाबी पर्न सक्ने अनुमान गरिएको छ। प्रदर्शनकारीहरूले निजी सम्पत्तिमा व्यापक आगजनी र तोडफोड गरेका थिए, जसको विवरण संकलन कार्य जारी छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *