Date

बिहि, अशोज ३०, २०८२
Thu, October 16, 2025

ढुसी लागेको नोटको बढ्दो ओइरो: जेनजी आन्दोलनपछि बैंकमा अस्वाभाविक निक्षेप

ढुसी लागेको नोटको बढ्दो ओइरो: जेनजी आन्दोलनपछि बैंकमा अस्वाभाविक निक्षेप

काठमाडाैं, ८ असाेज । जेनजी आन्दोलनका क्रममा नेताहरूको घरमा नगद जलेको घटनापछि सर्वसाधारणले घरभित्र लुकाएको पैसा बैंकमा ल्याउन थालेको देखिएको छ । बैंकका अनुसार पछिल्ला हप्तामा ढुसी गह्नाएका पुराना नोटको ठूलो मात्रामा निक्षेप बढेको छ ।

एक बैंक अधिकारीका अनुसार अघिल्ला वर्षमा कम देखिने यस्ता नोट अहिले बोरामा वा दराजमा लामो समय राखिएको जस्तो अवस्थामा धमाधम बैंकमा जम्मा भइरहेका छन्। “पहिले पहिले पनि यस्तै नोट आउँथे, तर केही वर्षदेखि यो प्रवृत्ति कम भएको थियो, अहिले फेरि तीव्र भएको छ,” उनले बताए।

आन्दोलनका क्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्व ऊर्जामन्त्री दीपक खड्का लगायत नेताहरूको घरमा ठूलो मात्रामा नगद भेटिएको र कतिपय पैसा जलेको भिडियो सामाजिक सञ्जालमा फैलिएको छ। कतिपयले सो नगद आन्दोलनकारीले लुटेर थोरै–थोरै गरी बैंकमा राखेको हुन सक्ने अनुमान गरिएको छ। केहीले त अंशतः जलेका नोट समेत बैंकमा ल्याएका कारण बैंकले शंका गर्दै ती निक्षेप अस्वीकार गर्न थालेका छन्।

नेपाल बैंकर्स संघको तथ्यांकअनुसार भदौ महिनाको पहिलो दुई हप्तामा वाणिज्य बैंकमा करिब ११ अर्ब मात्र निक्षेप बढेको थियो। तर अन्तिम दुई हप्तामा एक्कासी ६३ अर्ब २२ करोड रुपैयाँ निक्षेप थपिएको छ। चलनचल्तीको मुद्रा पनि अस्वाभाविक रुपमा स्थिर रहनु यसलाई पुष्टि गर्ने अर्को सूचक हो।

राष्ट्र बैंकका अनुसार आन्दोलन सुरु हुनुअघि २२ भदौमा चलनचल्तीमा ७ खर्ब ३९ अर्ब रुपैयाँ थियो, जुन भदौ ३० सम्ममा करिब ५ अर्बले मात्र बढ्यो। घटस्थपना आउँदासम्म १७ अर्ब थपिएर ७ खर्ब ६१ अर्ब पुगेको छ। अघिल्लो वर्ष भने यस्तै अवधिमा चलनचल्तीमा ३० अर्ब २४ करोडभन्दा बढीको वृद्धि भएको थियो।

दशैँमा सामान्यतया बैंकबाहिर नगदको मात्रा तीव्र रुपमा बढ्ने भए पनि यसपालि अघिल्ला वर्षको तुलनामा आधामात्रै वृद्धि भएको देखिन्छ। अर्थविशेषज्ञका अनुसार आयात–निर्यात र रेमिट्यान्स बढ्दो अवस्थामा हुँदाहुँदै पनि नगद प्रयोग सुस्त हुनुको कारण आन्दोलनले उत्पन्न गरेको त्रास र घरभित्रको नगद सुरक्षित गर्न मानिसले बैंक रोज्नु हो।

यसरी अस्वाभाविक रुपमा बढेको निक्षेपको ठूलो हिस्सा स्रोत नखुलेको सम्पत्तिबाट आएको हुन सक्ने अड्कलबाजी पनि गरिएको छ, जसले बैंकिङ क्षेत्रमा सावधानीको संकेत दिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *