सुनको मूल्य पुनः उकालो, प्रतितोला २ लाख ३८ हजार पुग्दा नयाँ रेकर्ड

काठमाडाैं, २२ असाेज । नेपालमा सुनको मूल्य बुधबार पनि तीव्र रूपमा बढेको छ। हिजो मात्रै प्रतितोला २ हजार ३ सय रुपैयाँले वृद्धि भएको सुन आज फेरि २ हजार ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार रुपैयाँ निर्धारण गरिएको छ।
मंगलबार प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँ कायम रहेको सुनको मूल्य लगातार दोस्रो दिन पनि बढ्दा बजारमा नयाँ रेकर्ड बनेको हो।
यता, चाँदीको मूल्य भने आज ५ रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला २ हजार ९६० रुपैयाँ रहेको चाँदी आज २ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
सुनको मूल्यमा भएको यो तीव्र वृद्धि नेपाल मात्र होइन, विश्व बजारमा पनि नयाँ उचाइमा पुगेको संकेत हो। अन्तर्राष्ट्रिय बजारमा बुधबार इतिहासमै पहिलोपटक सुनको मूल्य प्रतिऔंस ४ हजार २५ अमेरिकी डलर पुगेको छ।