इजरायल–हमास युद्धविराममा सहमति, बन्धक रिहाइको बाटो खुलेको

काठमाडाैं, २३ असाेज । दुई वर्षदेखिको हिंसापछि अन्ततः इजरायल र हमासबीच युद्धविराम सम्झौता भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका अनुसार, दुबै पक्षले अमेरिकाले तयार पारेको शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेका छन्।
सहमति अनुसार दुबै पक्षले चाँडै सबै बन्धकहरूलाई रिहा गर्न पहल गर्नेछन्। तर, हमासको निशस्त्रीकरण र गाजाको भविष्य शासन संरचनाजस्ता जटिल विषयहरू आगामी चरणमा छलफल गरिने बताइएको छ।
गजामा दुई वर्षदेखि जारी युद्ध अन्त्यका लागि ट्रम्पले २० बुँदे प्रस्ताव प्रस्तुत गरेका थिए। युद्धविरामका लागि अमेरिका, कतार, इजिप्ट र टर्कीले मध्यस्थता गरेका थिए।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार, हमासले शनिबारदेखि बन्धकहरूलाई रिहा गर्न सुरु गर्नेछ। सम्झौताअनुसार ७२ घन्टाभित्र सबै बन्धकहरू छोडिनुपर्नेछ। अक्टोबर ७, २०२३ मा बन्धक बनाइएका २५१ मध्ये अझै ४८ जना हमासको नियन्त्रणमा छन् र तीमध्ये करिब २० जना जीवित रहेको अनुमान छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यस सम्झौतोलाई “कूटनीतिक सफलता र राष्ट्रिय–नैतिक विजय” भनेका छन्। हमासले भने, “यो सम्झौताले गाजामाथिको युद्ध अन्त्य, इजरायली सेनाको फिर्ता, राहत सामग्रीको प्रवेश, र बन्धी विनिमय सुनिश्चित गरेको छ।”
यो सम्झौता सन् २०२३ को अक्टोबर ७ मा भएको हमासको अभूतपूर्व आक्रमणको दुई वर्ष पूरा हुने अवसरमा आएको हो। उक्त आक्रमणमा करिब १,२०० मानिस मारिएका र २५० भन्दा बढी अपहरण गरिएको थियो। त्यसपछि सुरु भएको इजरायली प्रतिआक्रमणमा ६७ हजारभन्दा बढी मानिस, जसमा धेरैजसो महिला र बालबालिका छन्, मारिएका थिए।
यस सम्झौताले दुई वर्षको हिंसापछि गाजामा शान्ति र बन्धक मुक्तिको नयाँ ढोका खोलेको छ।