Date

आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025

नेपालको सेयर बजारमा पनि ‘बंगलादेश मोडेल’ को सर्किट प्रणाली लागू गर्न माग

नेपालको सेयर बजारमा पनि ‘बंगलादेश मोडेल’ को सर्किट प्रणाली लागू गर्न माग

काठमाडौं, २ कार्तिक । नेपालको सेयर बजारमा पछिल्ला उतार–चढावबीच लगानीकर्ताको एक समूहले बंगलादेशमा प्रचलित सर्किट प्रणालीको जस्तै व्यवस्था नेपालमा पनि लागू गर्न माग गरेको छ। धितोपत्र बोर्ड (सेबोन) मा भइरहेको कर्मचारी आन्दोलनका कारण कामकाज प्रभावित भएको समयमा सो समूहले आठ बुँदे मागसहित ज्ञापनपत्र बोर्ड अध्यक्षको सचिवालयमा बुझाएको हो।

ज्ञापनपत्रमा लगानीकर्ताहरूले बजार स्थायित्वका लागि सेयर मूल्य घट्दा ५ प्रतिशत र बढ्दा १० प्रतिशतसम्मको सर्किट ब्रेक प्रणाली लागू गर्न माग गरेका छन्। उनीहरूको भनाइमा, यस्तो प्रावधानले बजारमा अत्यधिक उतार–चढाव नियन्त्रण गर्न र लगानीकर्ताको विश्वास पुनःस्थापित गर्न सहयोग पुर्‍याउनेछ।

मागपत्रमा अन्य बुँदाहरूमा बजार घट्दो अवस्थामा नयाँ आईपीओ (प्राथमिक शेयर) र हकप्रद (अतिरिक्त सेयर बिक्री) रोक्नुपर्ने, औचित्य पुष्टि नभएसम्म नयाँ इश्यू अनुमति नदिनुपर्ने, तथा बजार स्थिर हुनासाथ मात्र नयाँ प्रस्ताव स्वीकृत गर्नुपर्ने उल्लेख गरिएको छ।

लगानीकर्ताहरूले हालको बजार सन्तुलन बिग्रिएको बताउँदै बंगलादेशको जस्तै सर्किट प्रणालीबाट बजारलाई स्थायित्व दिलाउन सकिने बताएका छन्। उनीहरूका अनुसार, बोर्ड र नियामक निकायहरूले लगानीकर्ताको हित र बजार स्थायित्वमा प्राथमिकता दिनुपर्ने बेला आएको छ।

त्यस्तै, ज्ञापनपत्रमा अहिलेको अस्थिर अवस्थाका कारण लगानीकर्ताको मनोबल कमजोर भएको र बजारमा नकारात्मक हल्लाले प्रभाव पारिरहेको उल्लेख छ। त्यसैले सेयर मूल्यमा अस्वाभाविक उतार–चढाव रोक्न प्राविधिक र नीतिगत सुधार तुरुन्त लागू गर्न उनीहरूको माग छ।

सो समूहले हाल धितोपत्र बोर्डमा जारी कर्मचारी आन्दोलनले कार्यसञ्चालन ठप्प हुँदा नयाँ इश्यू अनुमति प्रक्रिया अवरुद्ध भएको र यसले बजारको पारदर्शितामा असर पारेको पनि औंल्याएको छ।

यसैबीच, स्वतन्त्र उर्जा उत्पादक संघ (IPPAN) ले विभिन्न हाइड्रो कम्पनीलाई आईपीओ र हकप्रद अनुमति दिन दबाब दिइरहेको आरोप लगानीकर्ताले लगाएका छन्। उनीहरूले औचित्य सिद्ध नभएसम्म नयाँ इश्यू रोकिनुपर्ने र बजार स्थिर हुनासाथ मात्र पुनःसञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।

लगानीकर्ताहरूको यो मागलाई बोर्डले गम्भीरताका साथ अध्ययन गरी बजारको दीर्घकालीन स्थायित्वका लागि आवश्यक कदम चाल्नुपर्ने सुझाव आर्थिक विश्लेषकहरूले दिएका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *