१२ लाखभन्दा बढी बीमालेख निष्क्रिय, नविकरणमा गिरावट
काठमाडाैं, ७ कार्तिक । बीमा कम्पनीहरूमा बीमालेख नविकरण नगर्ने प्रवृत्ति निरन्तर बढ्दै गएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को भदौ मसान्तसम्म आइपुग्दा देशभर १२ लाख १३ हजार ५६२ वटा बीमालेख नविकरण हुन सकेका छैनन्।
यो संख्या गत वर्षको सोही अवधिको तुलनामा २.७९ प्रतिशतले वृद्धि भएको हो। गत वर्ष भदौ मसान्तसम्म नविकरण नभएका बीमालेखको संख्या ११ लाख ८० हजार ६१६ थियो।
प्राधिकरणको तथ्यांकअनुसार भदौ मसान्तसम्म नविकरण नभएको बीमालेखको कुल रकम साढे ३४ अर्बबाट बढेर ३६ अर्ब ४३ करोड ४७ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ५ प्रतिशतले बढी हो।
हाल देशभर जीवन बीमा तर्फ १४ ठूला र ३ लघु बीमा कम्पनी सञ्चालनमा छन्। ती कम्पनीहरूले बिक्री गरेका तर म्यादभित्र नविकरण नभएका बीमालेखको यो हालको स्थिति हो।
विज्ञहरूका अनुसार बीमा अभिकर्ताहरूको असक्रियता, ग्राहकसँग नियमित सम्पर्कको अभाव, र बीमितहरूमा बीमा सरेन्डरसम्बन्धी जानकारी नहुँदा नविकरण दर घट्दै गएको हो। साथै, आर्थिक कठिनाइका कारण पनि धेरै बीमितहरूले समयमा प्रिमियम तिर्न नसक्ने अवस्था देखिएको छ।
प्राधिकरणको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउन र भदौ महिनामा मात्र २ अर्ब ५० करोड ७ लाख रुपैयाँ बराबरको बीमा सरेन्डर भएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९.१८ प्रतिशतले कम हो। गत वर्षको साउन–भदौमा २ अर्ब ७५ करोड ३३ लाख रुपैयाँ बराबरको सरेन्डर भएको थियो।
यी दुई महिनामा १५ हजार ८९८ वटा बीमालेख सरेन्डर भएका छन्, जबकि गत वर्ष सो अवधिमा १९ हजार ७४१ वटा बीमालेख सरेन्डर भएका थिए।
जीवन बीमाका अधिकांश योजना ५ देखि १५ वर्ष अवधिका हुने भएकाले बीमितहरूले हरेक वर्ष प्रिमियम बुझाउनुपर्छ। समयमै नविकरण नगरे बीमालेख स्वतः व्यतित हुने र बीमा सुरक्षाको सुविधा समाप्त हुने व्यवस्था छ।
तर, बीमालेख व्यतित भएपनि बक्यौता रकम तिरेर पुनः नविकरण गर्न सकिन्छ। त्यस्तै, तीन वर्षभन्दा पुरानो बीमालेख भए सरेन्डर गरी केही रकम फिर्ता लिन पनि सकिने व्यवस्था छ।
तर, सूचनाको अभाव र बीमा कम्पनीहरूको कमजोर ग्राहक सम्पर्कका कारण धेरै बीमितहरू न त नविकरण गर्छन्, न त सरेन्डर। बीमा प्राधिकरणले अभिकर्ता र कम्पनीहरूलाई नियमित रूपमा बीमितसँग सम्पर्कमा रहन निर्देशन दिएपनि, व्यवहारमा यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।



