, तेस्रोपटक मन्त्रिपरिषद् विस्तारको तयारी, सिफारिस भएका चार जना को हुन् ?
काठमाडौं, ९ कार्तिक । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन्।
यसअघि जेन-जी समूहका तर्फबाट ४ जना मन्त्री थप्ने तयारी गरेको समाचारहरू सार्वजनिक भएपनि जेन-जीबीचमै विवाद हुँदा विस्तार हुन सकेको थिएन । तर अब भने मन्त्रिपरिषद्लाई टुंगो लगाउन खोजिएको पाइएको छ ।
स्रोतका अनुसार चार जना मन्त्रीको नाम तय भएको छ, जसमा सुधा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्री, गणपतिलाल श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री, खगेन्द्र सुनार श्रम तथा रोजगार मन्त्री र बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बन्ने भएका छन् ।
मन्त्री बन्न लागेका को कस्ता ?
गणपतिलाल श्रेष्ठ देशका सम्पदाहरू जोगाउनुपर्ने तर्क अघि राख्दै हिँडेका अभियान्ता हुन् । श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय दिने तयारी गरिएको छ । भूकम्पपछिको पुनर्निर्माणका क्रममा रानीपोखरी र पशुपति क्षेक्रमा कंत्रिट हाल्ने प्रयास, बालगोपालेश्वर मन्दिरमा सिमेन्ट र रडको प्रयोगदेखि खुलामञ्चको व्यापारीकरण विरुद्ध उनले आवाज उठाउँदै आएका थिए ।
त्यसैगरी बब्लु गुप्ता कोभिड-१९ को समयमा निःशुल्क खाना अभियान सञ्चालन गर्ने युवा अभियन्ता हुन्। उनले ‘हन्ड्रेड ग्रुप’ मार्फत ११० विद्यार्थीलाई निःशुल्क पढाइरहेका छन् र बिरामीका लागि रगत खोज्ने अभियानमा पनि सक्रिय छन्। उनलाई युवा तथा खेलकुद मन्त्रालय दिने तयारी छ ।
खगेन्द्र सुनार दलित अधिकारकर्मी हुन् । संवैधानिक पद र राजनीतिक नियुक्तिमा दलित प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गर्दै शरीरमा तीन किलोग्रामको नेल लगाएर काठमाडौंमा प्रदर्शन गरेपछि उनी चर्चामा आएका थिए । संघदेखि प्रदेश र स्थानीय तहसम्मका दलितको प्रतिनिधित्वको शून्यजस्तै भएको भन्दै उनी यसअघि निरन्तर आन्दोलित थिए । हाल उनलाई श्रम तथा रोजगार मन्त्रीको जिम्मेवारी तोकिएको बताइएको छ ।
यता स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सिफारिस भएकी सुधा पूर्व स्वास्थ्य सचिव हुन् । उनी स्त्री तथा प्रसूति रोग पनि विशेषज्ञ हुन् । उनले ‘सिंहदरबारको घुम्ने मेच’ र ‘अप्रमेय’ पुस्तक समेत लेखेकी छन् । यसअघि सम्भावित स्वास्थ्य मन्त्रीको रुपमा स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव संगीता कौशल मिश्राको नाम चर्चामा थियो । त्यसअनुसार उनले पदबाट राजीनामा समेत दिएकी थिइन् । तर उनीमाथि अख्तियार दुरुयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा मुद्धा नै दर्ता गरेपछि च्याप्टर नै क्लोज भएको थियो । त्यसपछि स्वास्थ्य मन्त्रीमा चमार समुदायबाट पहिलो डाक्टर बनेका रौतहटका रामजीको पनि नाम चर्चामा रहेको थियो । तर त्यतिबेला जेनजीबीचकै तनावले मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन ।
हाल सिफारिस भइसकेका चार जना मन्त्रीको आजै शपथ ग्रहण हुने तयारी छ । जेनजी आन्दोलनको बलमा गठित अन्तरिम सरकारको नेतृत्व समालेकी प्रधानमन्त्री कार्कीले दुईपटक मन्त्रिपरिषद् विस्तार गर्दै हाल उनीसहित ८ सदस्यीय मन्त्रिपरिषद् बनेको छ । अब चार मन्त्री थप भए मन्त्रिपरिषद् १२ सदस्यीय बन्ने छ । उनको मन्त्रिपरिषद् निर्दलीय छ ।



