नेपाल लाइफलाई ‘डबल ए–’ रेटिङ: वित्तीय मजबूती र भरोसाको प्रमाण
काठमाडाैं, १० कार्तिक । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो विश्वसनीयता र वित्तीय सुदृढतालाई मान्यता दिँदै उच्च रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई डबल ए माइनस (AA–) श्रेणीमा मूल्याङ्कन गरेको छ, जुन स्तरमा रहेका संस्थाहरूलाई अत्यन्त उच्च सुरक्षा र वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमता भएको मानिन्छ ।
सन् २००१ देखि जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको नेपाल लाइफले हाल देशभर करिब १९० शाखा विस्तार गरी विश्वसनीय छवि निर्माण गरेको छ । लामो अनुभव भएका सञ्चालक समिति र दक्ष व्यवस्थापन टोलीले कम्पनीको सुदृढता थप सुनिश्चित गरेको छ ।
कम्पनी जीवन बीमा क्षेत्रमा सबैभन्दा ठूलो बजार हिस्सा राख्ने संस्थाका रूपमा स्थापित छ। कम्पनीको कुल बीमा आम्दानीमा २५ प्रतिशतभन्दा बढी हिस्सा रहँदा यसले बजारमा प्रभावशाली उपस्थिति कायम गरेको छ।
कम्पनीको लगानी रणनीतिलाई पनि उत्कृष्ट मानिएको छ। स्थिर आम्दानी दिने निक्षेप र साधनहरूमा गरिएको लगानीले कम्पनीलाई सुरक्षित प्रतिफल दिलाएको छ। हालको कम ब्याजदरको अवस्थापछि पनि कम्पनीले औसत ९.३ प्रतिशत ब्याजदर प्राप्त गरेको छ।
कम्पनीको सॉल्भेन्सी अनुपात १४५ प्रतिशत रहेको छ, जुन बीमा प्राधिकरणले तोकेको न्यूनतम मापदण्ड १३० प्रतिशतभन्दा माथि छ। पर्याप्त पुनर्बीमा र विपद् कभरेज व्यवस्था पनि कम्पनीको वित्तीय बलको प्रमाण हो।
हाल कम्पनीको कुल लगानीमा ६८ प्रतिशत वाणिज्य बैंकहरूमा रहेको छ भने केवल ६ प्रतिशत उद्योग, हिस्सेदारी र अन्य क्षेत्रमा लगानी गरिएको छ। बीमा जोखिम सन्तुलनका लागि कम्पनीले नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र हिमालयन रिइन्स्योरेन्स लिमिटेडसँग पर्याप्त पुनर्बीमा सम्झौता गरेको छ।
सामान्य जीवन बीमाका लागि प्रति बीमित व्यक्तिमा २ मिलियन रुपैयाँसम्मको जोखिम कम्पनीले आफ्नै जिम्मामा राखेको छ भने विपद् कोषमा करिब २ अर्ब ३२ करोड रुपैयाँ सुरक्षित छ।
नेपाल लाइफले विगतदेखि नै पारदर्शिता, ग्राहक विश्वास र जिम्मेवार सेवालाई प्राथमिकता दिएको छ। नयाँ रेटिङले कम्पनीको वित्तीय स्थायित्व, लगानी क्षमता र दायित्व पूरा गर्ने क्षमतालाई थप पुष्टि गरेको छ र बीमाग्राही तथा लगानीकर्तामा भरोसाको भावना सुदृढ बनाएको छ।



