दुई महिनामा २ खर्ब २८ अर्ब बढीको अन्तरबैंक कारोबार
काठमाडौं, ११ कार्तिक । चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थामा अल्पकालीन अवधिको लागि हुने कारोबार बढेकाे छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा चालु आर्थिक वर्ष २०८२/८३ को २ महिनामा अन्तर बैंक काराेबार बढेकाे देखिएकाे हाे।
चालु आवकाे दुई महिनामा वाणिज्य बैंकहरूको १९८ अर्ब ९ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) को ३० अर्ब ६५ करोड रुपैयाँ गरी कुल २ खर्ब २८ अर्ब ७४ करोड रुपैयाँको अन्तर–बैंक कारोबार भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको १ खर्ब ९० अर्ब १० करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरूकाे ३ अर्ब ६० करोड रुपैयाँ गरी कुल १ खर्ब ९३ अर्ब ७० करोड रुपैयाँको अन्तर बैंक कारोबार भएको थियो।



