दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना: ‘शान्ति वनस्पति घ्यू उद्योग’
हेटौंडा, १३ कार्तिक । कुनै समय हजारौंलाई रोजगारी दिएको हेटौंडा औद्योगिक क्षेत्रभित्र रहेको ऐतिहासिक ‘शान्ति (नेपाल) वनस्पति घ्यू उद्योग लिमिटेड’ यतिबेला बन्द अवस्थामा छ । राजनीतिक हस्तक्षेप, नीति अस्थिरता र औद्योगिक योजनाको कमीका कारण करिब तीन दशकअघि नै बन्द भएको पूर्वकर्मचारी एवम स्थानीबासीको भनाइ छ । यो प्रतिष्ठान अहिले पुरानो भग्नावशेषका रूपमा मात्र बाँकी छ ।
पूर्वकर्मचारी रामबहादुर खड्काका अनुसार, यो उद्योगले करिब १० हजारभन्दा बढी नेपालीलाई नियमित रोजगारी दिएको थियो तर, दलगत स्वार्थ, व्यवस्थापकीय कमजोरी र दीर्घकालीन औद्योगिक दृष्टिकोणको अभावले गर्दा उद्योग क्रमशः खस्किदै गएको छ । ‘राजा महेन्द्र वीरविक्रम शाहले आफ्नी बहिनी शान्तिदेवी शाहको नाममा स्थापना गरेका यो उद्योग गणतन्त्र आएपछि पूर्ण रूपमा बन्द भयो, खड्काले भने, ‘स्थिर नीतिको अभाव र राजनीतिक भागबन्डाले हजारौँ परिवारको जीवननिर्वाह गर्ने यो उद्योग आज बिर्सनलायक ढिस्को बनेको छ ।’
ऐतिहासिक पृष्ठभूमि
शान्ति वनस्पति घ्यू उद्योग १३ जुलाई १९७६ (२०३३ असार) मा स्थापना भई १६ जुलाई १९८२ (२०३९ असार) देखि उत्पादनमा आएको थियो । करिब ८९ रोपनी (४.५ हेक्टर) क्षेत्रफलमा फैलिएको यस उद्योगले ‘शान्ति ब्रान्ड’ नाममा वनस्पति घ्यू उत्पादन गथ्र्यो, जुन एक समय देशभर चर्चित थियो । काठमाडौंदेखि धरान, पोखरा र जनकपुरसम्म यसको माग उल्लेखनीय थियो ।
तर, समयक्रममा भारतसँगको प्रतिस्पर्धा, कर असमानता र कच्चा मालको अभावजस्ता कारणले उद्योग कमजोर हुँदै गयो । १९९० को दशक तिर नै उद्योग संकटमा फसेको र २००७÷०८ आर्थिक वर्षसम्म आइपुग्दा उत्पादन पूर्ण रूपमा बन्द गर्नुपरेको बताइएको छ ।
बन्द हुनुका कारण
उद्योग बन्द हुनामागका प्रमुख कारणहरूमा भारतबाट अत्यधिक सस्तो वनस्पति घ्यूको आयात, कर संरचनामा असमानता, व्यवस्थापनको कमजोरी र कच्चा मालको आपूर्तिमा समस्या प्रमुख रुपमा रहेको औंल्याइन्छ । नेपालमा कर दर निरन्तर बढ्दै गए पनि भारतमा वनस्पाती उद्योगलाई सब्सिडी र कर छुट दिइँदै आएको थियो । त्यसले गर्दा नेपाली उत्पादन बजारमा प्रतिस्पर्धा गर्न नसकेको उद्योगका पुराना रिपोर्टहरुमा उल्लेख छ । त्यससँगै उद्योगभित्रै हुने राजनीतिक हस्तक्षेप र कर्मचारी नियुक्तिमा दलगत भागबन्डा पनि यसको पतनको मुख्य कारण बनेको पूर्व कर्मचारीहरू बताउँछन् । ‘व्यवसायिक दक्षता भन्दा पनि पार्टी निष्ठा हेरेर नियुक्ति गर्न थालियो,’खड्काले सम्झिए, ‘त्यो क्षणदेखि नै उद्योगको पतन सुरु भयो ।’
निष्क्रिय जग्गा र पुनःप्रयोगको प्रयास
हेटौंडा औद्योगिक क्षेत्र कार्यालयका अनुसार, उद्योग बन्द भएपछि लामो समयसम्म ८९ रोपनी जग्गा निष्क्रिय रह्यो । पछिल्ला वर्षहरूमा सरकारले त्यस्ता निष्क्रिय उद्योगका जग्गा फिर्ता लिएर पुनःउत्पादनशील बनाउन पहल थालेको छ। तर, ‘साल्ट ट्रेडिङ कर्पोरेसन’ लगायतका केही संस्थाले त्यही क्षेत्रमा लिजमा जग्गा लिएर पनि लामो समय उपयोग नगरेका कारण विवाद बढ्दै गएको स्थानीय उद्योगीहरूको भनाइ छ। औद्योगिक क्षेत्रका एक अधिकृतका अनुसार, ‘हेटौंडा औद्योगिक क्षेत्रका धेरै उद्योगहरू दशकौँदेखि निष्क्रिय छन् । सरकारले ती जग्गा पुनःसक्रिय बनाउन प्रयास थालेको छ, तर कानुनी र प्रशासनिक प्रक्रिया जटिल छन्।’
नीति अस्थिरताको असर
अर्थविद्हरूको ठहरमा, शान्ति वनस्पति घ्यू उद्योगको पतन नेपालमा दीर्घकालीन औद्योगिक नीतिको अभाव र राजनीतिक हस्तक्षेपको परिणाम हो । ‘यदि त्यतिबेला नीति स्थिर र कर सन्तुलन कायम भएको भए, यो उद्योग अझै सञ्चालनमा रहन्थ्यो,’ उद्योग चेम्बरका एक पूर्व अधिकारीले बताए।
युगको अन्त्य
आजपनि उद्योगको भवन, चिम्नी र गोदामहरू हेटौंडा औद्योगिक क्षेत्रमा जस्ताको तस्तै देख्न सकिन्छ। तर, ती अब उत्पादनको प्रतीक होइन, एउटा गुमेको औद्योगिक युगको साक्षी बनेका छन् । स्थानीयहरू भन्छन्, ‘शान्ति उद्योगले हेटौंडाको औद्योगिक पहिचान बनाएको थियो। अहिले त्यही पहिचान धुलोमा हराएको छ । ’राजनीतिकरण, नीति अस्थिरता र योजनाको कमी यी सबै कारणले ‘शान्ति वनस्पति घ्यू उद्योग’ मात्र होइन, नेपालकै औद्योगिक इतिहासको एउटा स्वर्ण अध्याय बन्द भएको प्रतिक बनेको छ।



