मेरो सुरक्षा र प्रिमियर इन्स्योरेन्सबीच मोबाइल बीमा सम्झौता
काठमाडौ, ०२ असोज । मेरो सुरक्षा प्रालि र प्रिमियर इन्स्योरेन्सका बिचमा मोबाइल बीमा सम्बन्धि सम्झौता भएको छ । मेरो सुरक्षाले दिँदै आएको मोबाइल प्रोटेक्सन प्लानमा सहभागि हुनेहरुको मोबाइल बीमा गराउने लक्ष्यका साथ उक्त सम्झौता गरिएको हो ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनुवार र प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्यायले मोबाइल बीमा सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लानमा सहभागि हुने सेवाग्राहीले प्रयोग गर्ने मोबाइलको बीमा प्रिमियर इन्स्योरेन्समा हुनेछ । यस अघि मोबाइल प्रोटेक्सन प्लानका रुपमा मात्र सुरु भएको सेवा अब मोबाइल इन्स्योरेन्समा रुपान्तरण भएको हो ।
मोबाइल प्रयोगकर्ताले मेरो सुरक्षाको मोबाइल एप तथा वेबसाइटबाट सिधै मेरो सरक्षा प्रोटेक्सन प्लान खरीद गरी मोबाइलको बीमा गराउन सक्छन् । सेवा सुरु गरेको छोटो समयमा नै सेवाग्राही माझ लोकप्रिय बनेको मोबाइल प्रोटेक्सन प्लान २५ हजार बढीले खरिद गरिसकेका छन् भने मेरो सुरक्षाको मोबाइल एप ४० हजारभन्दा बढी डाउनलोड भइसकेको छ ।
सोही कार्यक्रममा महानायक राजेश हमाल मेरो सुरक्षाको ब्राण्ड एम्बेसडर नियुक्त भएका छन् । ब्राण्ड एम्बेसडर नियुक्त भएका हमालले मेरो सुरक्षा नेपालको सन्दर्भमा फरक किसिमको सेवा भएको भन्दै यसबाट आम मोबाइल प्रयोगकर्ताले आफ्नो मोबाइलको सुरक्षा गर्न सक्ने बताए ।
राजधानीका ४ सय बढी मोबाइल आउटलेटबाट मोबाइल किन्दा मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लानबाट बीमा योजनामा सहभागि हुन सकिने मेरो सुरक्षाले जनाएको छ । दशैं पछि राजधानी बाहिरबाट पनि मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लानबाट बीमा योजना सुरु हुनेछ ।
मोबाइल प्रोटेक्सन प्लान लिनका लागि प्रत्येक वर्ष मोबाइलको खरिद मूल्यको ५ प्रतिशत रकम भुक्तान गर्नु पर्ने हुन्छ । यसका साथै सेवाग्राहीले मोबाइल किनेर मेरो सुरक्षा एप डाउनलोड गरी सिधै मोबाइलको बीमा गराउन सक्छन् । यसरी मोबाइलको बीमा गर्दा लाग्ने शुल्क खल्ती, आई पेका साथै १५ वाणिज्य बैंकका अनलाइन बैंकिंगबाट भुक्तान गर्न सकिन्छ ।
मेरो सुरक्षाले दशैं, तिहारको अवसरमा मोबाइल प्रोटेक्सन प्लानमा सहभागि हुनेहरुलाई एक लाख रुपैंयाको निशुल््क दुर्घटना बीमा उपलब्ध गराउने जनाएको छ ।