जेनजी आन्दोलनपछि बैंकरहरू चिन्तित: ‘अब बैंककै अस्तित्व जोगाउने चुनौती’
काठमाडाैं, १८ कार्तिक । जेनजी आन्दोलनका नाममा देशभर ठूला व्यावसायिक सम्पत्तिहरूमाथि आक्रमण र तोडफोड भएपछि अर्थतन्त्र थप संकटमा फस्ने संकेत देखिएको बैंकरहरूले बताएका छन्। उनीहरूका अनुसार नयाँ परियोजना विस्तारका योजना ठप्प मात्र छैनन्, पुराना व्यवसाय पनि क्रमशः संकुचित हुने क्रममा छन्।
बैंकरहरूका भनाइमा, लगानीकर्ता भयभीत हुँदा बैंकमा थुप्रिएको अधिक तरलता प्रयोगमा आउन नसकेको र पुराना ऋण असुलीमा पनि समस्या देखिन थालेको छ। यस्तो परिस्थितिमा बैंकहरूले आफ्नो वित्तीय स्वास्थ्य जोगाउन संकट व्यवस्थापन र जोखिम नियन्त्रणका विशेष रणनीति तयार गर्न थालेका छन्।
‘हामीले विभिन्न संकट व्यवस्थापन योजना बनाएर आएका थियौं, तर अहिले परिस्थिति असाध्यै जटिल बनेको छ,’ एक बैंकरले बताए, ‘अब संस्थालाई जोगाउन विशेष रणनीति बनाउन बाध्य भएका छौं।’
उनका अनुसार, बैंकहरूले अहिले कर्मचारी कटौती, शाखा संकुचन, नगद प्रवाह नियन्त्रण, धितो बिक्रीको तयारी, र ऋणी छनोटमा कडाइजस्ता उपायहरूमा ध्यान केन्द्रित गर्न थालेका छन्।
अर्का एक बैंकरका अनुसार, ठूला लगानीकर्ताहरू लगानी विस्तार गर्न हिचकिचाइरहेका छन् भने केहीले त नेपालबाट पूँजी बाहिर लैजाने प्रयाससमेत गरिरहेका छन्। ‘मानिसहरूमा सुरक्षाको प्रत्याभूति छैन, लगानी जोखिमपूर्ण बनेको छ,’ उनले भने, ‘राजधानीमै रहेका ठूला प्रतिष्ठानहरू सुरक्षित राख्न सरकार असमर्थ देखिँदा उद्यमीहरूको आत्मबल घटेको छ।’
लुटिएका हतियार, भागेका कैदीबन्दी र बढ्दो असुरक्षाको माहोलले जनमानस त्रसित भएको र यसले बैंकिङ क्षेत्रमा पनि गम्भीर असर पारिरहेको बैंकरहरूको भनाइ छ।
यदि ठूला ऋणीहरू पलायन भए वा उद्योगहरू नै बन्द भए, समग्र वित्तीय प्रणाली जोखिममा पर्ने सम्भावना रहेको उनीहरूले चेतावनी दिएका छन्। ‘हामी निराश होइनौं,’ एक बैंकरले भने, ‘तर अहिलेको अवस्था हेर्दा कहिल्यै नदेखिएको आर्थिक संकटको तयारी गर्नुपर्ने समय आएको छ।’
यद्यपि, केही बैंकरहरूले भने अझै पनि सकारात्मक दृष्टिकोण अपनाउनुपर्ने बताएका छन्। उनीहरूको भनाइमा, नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण नीतिका बीच केही ऋण प्रवाह भइरहेकाले बैंकहरूले व्यवसायीहरूको मनोबल घटाउने होइन, बलियो बनाउने काम गर्नुपर्छ।
तर उनीहरू पनि स्वीकार्छन् — यदि हालको अस्थिरता बढ्दै गयो भने, बैंकहरूलाई आफ्नो अस्तित्व जोगाउन कठोर निर्णयहरू लिनु पर्ने अवस्था आउनसक्छ।



