सूर्यज्योति लाइफको नाफा दोहोरो अंकमा वृद्धि, बीमाशुल्क र आम्दानी दुवैमा मजबुत सुधार
काठमाडाैं, २५ कार्तिक । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्म सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले नाफामा उल्लेख्य वृद्धि गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार, असोज मसान्तसम्म कम्पनीले १२ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ११ करोड ५३ लाख रुपैयाँको तुलनामा करिब ११ प्रतिशतले वृद्धि हो।
समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क १८.७४ प्रतिशतले बढ्दै २ अर्ब ९१ करोड ९५ लाख रुपैयाँ पुगेको छ भने कुल आम्दानी १२.२८ प्रतिशतले वृद्धि भई ३ अर्ब ९५ करोड ५० लाख रुपैयाँ पुगेको छ।
त्यस्तै, कम्पनीको कुल दाबी भुक्तानी १४.८२ प्रतिशत बढ्दै ३ अर्ब २६ करोड ९५ लाख रुपैयाँ पुगेको छ। साथै, कुल खर्च १२.१७ प्रतिशतले बढेर ३ अर्ब ७६ करोड ९८ लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ।
असोज मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी (EPS) १० रुपैयाँ २२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ (Net Worth per Share) १३४ रुपैयाँ ४२ पैसा पुगेको छ। कम्पनीको मूल्य आम्दानी अनुपात (P/E Ratio) ३९.८६ गुणा रहेको उल्लेख गरिएको छ।
५ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ति कोषमा ४२ करोड ५७ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १ अर्ब ४ करोड १९ लाख रुपैयाँ, र अन्य इक्विटीमा २५ करोड ७३ लाख रुपैयाँ सञ्चित रहेको छ।



