डलरको भाउ १ सय १७ रुपैयाँ
काठमाडौं, ३ असोज । पछिल्लाको केही साता यता अमेरिकन डलरको भाउमा भएको बृद्धिको कारण नेपाली मुल्य कमजोर भईरहेको छ । बुद्यबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकन डलरका लागि ११७.०१ रुपैयाँ तोकेको छ ।
आयातमुखी अर्थतन्त्र भएको नेपाललाई डलरको भाउमा भएको बृद्धिले प्रत्यक्ष असर पर्ने विज्ञहरुको भनाई छ । नेपाली रुपैयाँ अवमुल्यन हुदाँ नेपाली अर्थतन्त्रमा मुख्य गरी तेस्रो मुलुकबाट बस्तु आयात गर्दा प्रभाव पर्ने गर्दछ ।
गत आर्थिक बर्ष मात्र १२ खर्ब रुपैयाँ व्यापार घाटा व्यहोेरेको नेपालले यसरी तिब्र गतिमा डलरको भाउ वृद्धिले व्यापार घाटा थप चुलिनुका साथै कुल ग्राहस्थ उत्पादनमा समेत नकारात्मक प्रभाव पर्ने विश्लेषण गरिएको छ । डलरको भाउ वृद्धिले अन्तराष्ट्रिय स्तरमा नै वस्तुहरुको मुल्य वृद्धि भएको छ । तर नेपालले आन्तरिक उत्पादनलाई अन्य मुलुकमा निर्यात गर्न सकेमा हाम्रो उत्पादित वस्तु तथा सेवा अन्तर्राष्ट्रिय स्तरमा नै सस्तो पर्न आउने र सरकारले नेपाली मुल्य अवमुल्यन भएकोमा चिन्ता लिनु भन्दा यो समस्याको सकारात्मक पाटोलाई पनि नियाल्नु जरुरी रहेको अर्थविद् केशव आर्चायको भनाई छ । महंगो वस्तु सेवाहरु आयात गर्नु भन्दा आन्तरिक उत्पादनका बस्तुहरुको निर्यात बढाए मात्र व्यापारघाटा केही हद सम्म कम गर्न सकिने उनले बताए ।
बस्तुको आयात लागत बढेपछि स्वभाविक रुपमा बजारमा भाउ पनि बढ्ने हुन्छ र यसले गर्दा मुद्रास्फीर्ती पनि बढ्न जान्छ । अर्कोतर्फ अमेरिकी डलरको भाउ वृद्धिले विदेशमा पढ्न जाने विद्यार्थीहरुलाई शुल्क भुक्तानीमा चर्को मार परिरहेको छ । तर केही मात्रामा डलरको भाउ वृद्धिले वैदेशीक रोजगारीमा विदेशमा रहेका नेपालीहरुलाई भने फाईदा पुगेको छ । विदेशी कामदारहरुको नेपाली दर अनुसार आम्दानी बढेको हो ।