Date

आइत, कार्तिक ३०, २०८२
Sun, November 16, 2025

रणनीति फेर्दै एनआईसी एशिया: खुद्राबाट फेरि कर्पोरेट र निर्माण क्षेत्रमा फर्किँदै

रणनीति फेर्दै एनआईसी एशिया: खुद्राबाट फेरि कर्पोरेट र निर्माण क्षेत्रमा फर्किँदै

काठमाडाैं, २७ कार्तिक । वित्तीय अवस्थामा कमजोर देखिएको एनआईसी एशिया बैंक अब पुनः आफ्नो लगानी संरचना र कर्जा रणनीति परिवर्तन गर्ने तयारीमा लागेको छ। केही वर्षअघि खुद्रा बैंकिङमा मात्र केन्द्रित रहने नीति अवलम्बन गरेको यो बैंक फेरि कर्पोरेट र निर्माण क्षेत्रमा फर्किन लागेको हो।

बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजितकुमार शाक्यले अर्थपथसँग कुरा गर्दै भनेका छन्, “अब बैंकको लगानी र कर्जाको नीति बदलिन्छ।” शाक्यका अनुसार उनले ८ वर्षपछि बैंकमा फर्किएर सबै विभागीय प्रमुखहरूसँग नयाँ रणनीति लागू गर्ने तयारी अघि बढाइसकेका छन्।

कोभिड–१९ पछि एनआईसी एशियाले ठूला कर्पोरेट ऋणीहरूलाई ऋण फिर्ता गर्न लगाएको थियो र त्यसपछि देशभर शाखा विस्तार गर्दै खुद्रा कर्जा (रिटेल लोन) मा ध्यान केन्द्रित गरेको थियो। विकास बैंकहरूको अवसानपछि त्यसको स्थान लिन खोज्ने एनआईसीले साना व्यवसायी र उपभोक्तामुखी ऋण वितरणमा जोड दिएको थियो।

तर पछिल्ला वर्षहरूमा उपभोग घट्नु, साना उद्यमी टिक्न नसक्नु, जग्गा र सेयर बजार खुम्चिनु, तथा लघुवित्त र सहकारी संकट जस्ता कारणले खुद्रा बजार कमजोर बन्दै गयो। यससँगै एनआईसीको आक्रामक विस्तार नीति ‘अनुचित’ सावित भएको विशेषज्ञहरूको मूल्यांकन छ।

यही कारण बैंकको दीर्घकालीन नेतृत्वमा रहेका रोशन न्यौपानेले राजीनामा दिए र उनको स्थानमा पूर्व नबिल बैंक डेपुटी सीईओ शाक्य नियुक्त भएका हुन्। उनले भनेका छन्, “अब हामी कर्पोरेट र कन्स्ट्रक्सन क्षेत्रमा पनि जाने हो, तर विगतका गल्ती दोहोर्याउने छैनौं।”

एनआईसी एशियाले पहिले पनि कर्पोरेट क्षेत्रमा ठूलो “एक्सपोजर” बनाएको थियो। तर कोभिडपछि नेपाली कर्पोरेट जगत दुई समूहमा बाँडियो — विशाल ग्रुप र आईएमई ग्रुपको नेतृत्वमा। विशाल ग्रुपसँग सम्बन्धित भएकै कारण बैंकले अन्य कर्पोरेटसँगको कारोबार घटाउने नीति लिएको थियो।

शाक्यका अनुसार, “ठूला कर्पोरेटहरूमा जोखिम भए पनि उनीहरूमा धक्का सहने क्षमता बढी हुन्छ। तर साना ऋणीहरूमा एक सानो अप्ठेरोले पनि कर्जा डुबाउने खतरा रहन्छ।”

उनले थपे, “पहिले हामीले केही ठूला व्यवसायीहरूलाई निराश पारेका थियौं। अहिले तुरुन्तै विश्वास जित्न कठिन छ, तर सुजित आएपछि बैंक सुधारोन्मुख छ भन्ने सन्देश बजारमा पुर्याउँछु।”

एनआईसी एशिया बैंकले अब सन्तुलित कर्जा पोर्टफोलियो अपनाउँदै खुद्रा र कर्पोरेट दुवै क्षेत्रमा समान ध्यान दिने रणनीति अघि सारेको छ। विश्लेषकहरूले यसलाई बैंकका लागि “फेरि उभिने अवसर”का रूपमा व्याख्या गरेका छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *