Date

आइत, कार्तिक ३०, २०८२
Sun, November 16, 2025

प्रधानमन्त्री कार्कीद्वारा अस्ट्रेलियासँगको ६५ वर्षे मित्रता जोड

प्रधानमन्त्री कार्कीद्वारा अस्ट्रेलियासँगको ६५ वर्षे मित्रता जोड

काठमाडाैं, ३० कार्तिक । प्रधानमन्त्री सुषिला कार्कीले नेपालले अस्ट्रेलियाको मित्रता, निरन्तर विकास सहयोग र लोकतान्त्रिक तथा समावेशी रुपान्तरणप्रतिको सिद्धान्तपूर्ण समर्थनलाई उच्च मूल्य दिएको बताएकी छन्।

शनिबार अस्ट्रेलियाको दूतावासले आयोजना गरेको ६५ वर्षे कूटनीतिक सम्बन्धको विशेष स्वागत समारोहमा सहभागी हुँदै प्रधानमन्त्री कार्कीले भनिन्, “छ दशकभन्दा बढीको सहकार्यमा शिक्षा, व्यापार, विकास र संस्कृति जस्ता महत्वपूर्ण क्षेत्रमा हाम्रो साझेदारी विस्तार भएको छ।”

सो अवसरमा उनले ‘65 Years Together’ शीर्षकको स्मृति पुस्तकको पनि विमोचन गरिन्। यो पुस्तकले अस्ट्रेलियामा अध्ययन गरेका नेपाली विद्यार्थीहरूको संघ (Association of Nepalese Alumni from Australia) मार्फत दुई देशबीचको मानिस–मानिसको सम्बन्ध, समयरेखा र गहिराइलाई उजागर गरेको छ।

१९६० मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ। यसले संस्कृति र जनसम्पर्कलाई थप बलियो बनाएको छ। हाल नेपाली समुदाय अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा सक्रिय योगदान दिँदै पनि आफ्नो मातृभूमिसँग गहिरो सम्बन्ध कायम राख्दै आएका छन्।

प्रधानमन्त्री कार्कीले भनिन्, “हामी दुई देशले द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय मञ्चहरू जस्तै संयुक्त राष्ट्रसंघमा नजिकबाट सहकार्य गर्दै आएका छौं। जलवायु कार्य, दिगो विकास, लैंगिक समानता र शान्ति स्थापनामा साझा एजेन्डा छ।”

दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अस्ट्रेलिया–नेपाल सम्बन्ध निरन्तर प्रगाढ हुँदैछ, जसमा जनसम्पर्क, सार्वभौमिकताको सम्मान र लोकतान्त्रिक मूल्यको प्रवर्द्धन महत्वपूर्ण भूमिका खेलिरहेको छ।”

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *