नेपाल टेलिकमको त्रैमासिक नाफा २४% घट्यो, आम्दानीमा पनि गिरावट
काठमाडाैं, १ मंसिर । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सो विवरण अनुसार कम्पनीको आम्दानी र नाफा दुवै गत वर्षको सोही अवधिको तुलनामा घटेको देखिन्छ।
असोज मसान्तसम्म कम्पनीको कुल आय रु. ९ अर्ब ४७ करोड १० लाख ५१ हजार पुगेको छ, जुन गत वर्षको रु. १० अर्ब ६ करोड ३७ लाख ३५ हजारको तुलनामा ५.८९% (रु. ५९ करोड २६ लाख ८५ हजार) ले कम हो। यद्यपि, कुल सञ्चालन आयमा नगन्य ०.०१% मात्र कमी आएको छ।
कम्पनीको खुद नाफा यस अवधिमा रु. १ अर्ब ३२ करोड ५१ लाख ७५ हजार पुगेको छ, जुन गत वर्षको रु. १ अर्ब ७३ करोड ९५ लाख ९० हजारको तुलनामा २३.८२% ले घटेको छ। कर अघिको नाफा रु. २ अर्ब ८८ करोड २१ लाख १६ हजार पुगेको छ, जुन १८.९०% ले घटेको हो। प्रति शेयर आम्दानी यस त्रैमासिकमा रु. २९.४५ रहेको छ।
राजश्व र मुनाफामा आएको गिरावटको प्रमुख कारणहरूमा ओटीटी सेवाहरूको व्यापक प्रयोगले विदेशबाट आउने आगमन कलको परिमाणमा कमी आउनु हो, जसले अन्तरआवद्धता आयमा १७.२९% (रु. १० करोड ९७ लाख ४२ हजार) ले कमी ल्याएको छ।
त्यसैगरी, ब्याजदरमा आएको गिरावटका कारण मुद्दती निक्षेपबाट प्राप्त ब्याज आम्दानीमा ४९% ले कमी आएको छ, जसले ब्याज आम्दानीमा करिब रु. ५० करोडको गिरावट ल्याएको छ।
कर्मचारी खर्चमा पनि वृद्धि भएको छ। कर्मचारी बीमा खर्च रु. १.९५ करोडले बढेको छ भने नेपाल लेखामान १९ अनुसार पेन्सन योजनाको दायित्व गणनाका लागि प्रयोग भएको डिस्काउन्ट दर ७.५५ बाट ७५ भएको कारण कर्मचारी अवकाश सम्बन्धी खर्च रु. १६.५ करोडले बढेको छ। यी कारणले कुल कर्मचारी खर्चमा रु. ८.८ करोडको वृद्धि भएको छ।
नेपाल टेलिकमले विकट तथा दुर्गम स्थानमा सेवा विस्तार र गुणस्तरीय सुधारमा निरन्तर लगानी गरिरहेको हुँदा लागत बढ्दै आएको जनाएको छ। कम्पनीले उल्लेख गरेको छ कि राष्ट्रको सञ्चार सेवा प्रदान गर्ने जिम्मेवारीले उच्च लागत र सीमित प्रतिफल दुवै निम्त्याइरहेको छ।



