पठाओकी निर्देशक सुरक्षा हमाल का अनुसार, राइडर बन्नका लागि ब्लूबुक, सवारी चालक अनुमति पत्र (लाइसेन्स) र तेस्रो पक्ष बीमा अनिवार्य छन्। त्यसपछि एपमा उपलब्ध लर्निङ म्यानेजमेन्ट सिस्टम (एलएमएस) मार्फत अनलाइन प्रशिक्षण सञ्चालन हुनेछ।
प्रशिक्षणपछि लिइने परीक्षामा कम्तीमा ८० प्रतिशत अंक ल्याउनुपर्नेछ। असफल भएका राइडरहरूले भोलिपल्ट पुनः प्रशिक्षण लिएर परीक्षा दिन सक्नेछन्।
इच्छुकले पठाओ ड्राइभ एप डाउनलोड गरी अनलाइनमार्फत दर्ता प्रक्रिया सुरु गर्न सक्नेछन्। एपमा खाता खोली आवश्यक कागजातहरू अपलोड गरेपछि पठाओ कार्यालयले ती कागजातको जाँच गर्नेछ। सबै कागजात सही भएमा २४ घण्टा भित्र खाता प्रमाणीकरण हुनेछ।
प्रशिक्षण पूरा भएपछि परीक्षामा सामेल हुन पाइनेछ। परीक्षा ८० प्रतिशत वा सोभन्दा बढी अंक ल्याएपछि सम्बन्धित व्यक्तिलाई एसएमएस मार्फत सम्झौता पत्र पठाइनेछ। हस्ताक्षर पश्चात आधिकारिक रूपमा पठाओ राइडर बन्न सकिने कम्पनीले जनाएको छ।
हमालले भनिन्, “हाम्रो लागि सुरक्षा वैकल्पिक होइन, सेवाको मेरुदण्ड हो। ८० प्रतिशत अंक ल्याएर पास हुने यो प्रणालीले हाम्रो सुरक्षा र जिम्मेवार सेवाको मानक अझ मजबुत बनाउनेछ। यसले ग्राहकलाई सुरक्षित, भरपर्दो र पेशागत अनुभव सुनिश्चित गर्नेछ।”
कम्पनीका तथ्याङ्क अनुसार, परीक्षामा करिब ८५ प्रतिशत सहभागी पहिलो प्रयासमै उत्तीर्ण हुन्छन्। सक्रिय पठाओ राइडरहरूले मासिक ४०–५० हजार रुपैयाँसम्मको आम्दानी गर्ने गरेको पनि तथ्याङ्कले देखाएको छ।
यस प्रणालीले पठाओको सेवाको गुणस्तर र राइडरको पेशागत क्षमता दुवै सुनिश्चित गर्दै, यात्रुलाई सुरक्षित र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्य राखेको छ।