तरलता सन्तुलनतर्फ पहल: राष्ट्र बैंकले ५० अर्ब निक्षेप तान्न तयारी
काठमाडाैं, ३ मंसिर । देशको वित्तीय प्रणालीमा देखिएको अधिक तरलता चाप कम गर्न नेपाल राष्ट्र बैंकले आज फेरि ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने प्रक्रिया अघि बढाएको छ। केन्द्रिय बैंकले निक्षेप संकलन उपकरणमार्फत ८४ दिन अवधिका लागि यो रकम तान्न लागेको हो।
अनलाइन बिडिङ सिस्टममार्फत दिउँसो २ बजे बोलकबोल हुनेछ र स्वीकृत निक्षेप आजकै दिन खरिद गरिनेछ। कम्तीमा १० करोडदेखि बढीमा ५० करोड रुपैयाँ (५ करोडले भाग जाने गरी) सम्मका आवेदन दिन सकिने राष्ट्र बैंकले जनाएको छ।
यस निक्षेपको परिपक्वता तथा सावाँ–ब्याज भुक्तानी माघ २८ गते हुनेछ। बोलकबोल बहुब्याजदरमा हुनेछ, जसअन्तर्गत सहभागी संस्थाहरूले आफ्नो प्रस्तावित ब्याजदर पेश गर्न सक्नेछन्।
केवल ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई नै बोलकबोलमा सहभागी हुने अनुमति छ। तरलता व्यवस्थापनलाई सुव्यवस्थित बनाउँदै बैंकिङ प्रणालीलाई सन्तुलित राख्ने उद्देश्यले राष्ट्र बैंकले पछिल्लो समय लगातार सक्रियता बढाइरहेको छ।



