‘अन्नपूर्णमा पर्यटकको उत्साह बढ्यो’: एक महिनामै ३५ हजारभन्दा बढी आगमन
काठमाडाैं, ५ मंसिर । चालु वर्षको कात्तिक महिनामा अन्नपूर्ण संरक्षण क्षेत्र (ACAP) मा ३५ हजार ९५२ विदेशी पर्यटकले भ्रमण गरेका छन्। अन्नपूर्ण क्षेत्र विश्वका उत्कृष्ट ट्रेकिङ मार्गमध्ये एक मानिने भएकाले यो संख्या विशेष महत्व राख्छ।
यो संख्या गत वर्षको सोही महिनाको तुलनामा ८ प्रतिशतले बढी रहेको एसीएपका अधिकारीहरूले जनाएका छन्। गत वर्ष कात्तिकमा ३३ हजार ३१० विदेशी पर्यटक आएका थिए। असोज–कात्तिकलाई अन्नपूर्ण क्षेत्र ट्रेकिङका लागि सर्वश्रेष्ठ मौसम मानिनाले यस अवधिमा पर्यटक संख्यामा नियमित वृद्धि देखिन्छ।
एसीएप प्रमुख डा. रबिन कडरिया अनुसार यो वर्ष भारतीय पर्यटकको संख्या सबैभन्दा बढी रहेको छ। विदेशी मात्र होइन, आन्तरिक पर्यटनमा पनि वर्षैपिच्छे उल्लेखनीय वृद्धि भएको उनले बताए।
वडादशैं, तिहार र छठजस्ता प्रमुख चाडपर्वको बिदा उपयोग गर्दै थुप्रै नेपाली trekker हरू अन्नपूर्ण क्षेत्र पुग्ने गरेको कडरियाले जानकारी दिए। एसीएपका प्रमुख गन्तव्यहरूमा अन्नपूर्ण बेसक्याम्प, मर्दी शिखर, घान्द्रुक, तिलिचो ताल, थोरोङ–ला पास, अपर मुस्ताङ, घोडेपानी, पूनहिललगायत लोकप्रिय स्थलहरू पर्दछन्।
यो संरक्षण क्षेत्र कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तह समेटेर बनेको विशाल पर्यटन क्षेत्र हो।



