‘सीमापार प्रसारणमा नयाँ छलाङ’: दुई लाइन निर्माणका लागि ३ अर्बको संयुक्त लगानी
काठमाडाैं, ५ मंसिर । नेपाल–भारत ऊर्जा सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यसहित नेपाल विद्युत् प्राधिकरण (NEA) दुई महत्वपूर्ण सीमापार प्रसारण लाइन निर्माणका लागि ३ अर्ब रुपैयाँ लगानी गर्दै संयुक्त लगानी संस्था (Joint Venture–JV) स्थापना गर्ने तयारीमा छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका अनुसार यो लगानी नेपाल र भारत दुवै देशमा बन्ने संयुक्त संस्थामार्फत परिचालन हुनेछ।
मन्त्रालयले जानकारी दिए अनुसार नेपालमा स्थापना हुने संयुक्त कम्पनीमा १ अर्ब रुपैयाँ तथा भारतमा स्थापना हुने कम्पनीमा २ अर्ब रुपैयाँ बराबरको इक्विटी लगानी हुनेछ। प्राधिकरणले सम्पूर्ण लगानी आफ्नै आन्तरिक स्रोतबाट जुटाउने छ।
दुवै देशका अधिकारीबीच भएको पूर्व सहमतिअनुसार उक्त संयुक्त लगानी संस्था इनरुवा–पूर्णिया तथा दोधारा–बरेली सीमापार प्रसारण लाइन निर्माणका लागि बनाइँदैछ। यी लाइनहरू नेपाल–भारत ऊर्जा आदान–प्रदानका लागि अत्यन्त महत्वपूर्ण मानिन्छन्।
दुबै प्रसारण लाइन २०३० सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ। नेपाल पक्षको संयुक्त संस्थामा प्राधिकरणको ५१ प्रतिशत र भारतको पावर ग्रिड कर्पोरेशनको ४९ प्रतिशत शेयर रहनेछ। यसले सञ्चालन, निर्माण र व्यवस्थापनमा नेपाललाई प्रमुख भूमिका दिने बताइएको छ।



