‘कोप–३० ले विश्व संवादलाई नयाँ मोड दियो’
काठमाडाैं, १० मंसिर । ब्रजिलको बेलेममा सम्पन्न संयुक्त राष्ट्रसंघको कोप–३० जलवायु सम्मेलन विश्वव्यापी तापक्रम वृद्धि रोकिने दिशामा ‘एकमत’ खोज्ने तीन दशकको प्रक्रियामध्ये सबैभन्दा विभाजित सम्मेलन मानिएको छ। खनिज इन्धन (फोसिल फ्युअल) सम्बन्धी उल्लेख नै समावेश नहुँदा धेरै राष्ट्र निराश भए भने केही उत्पादक राष्ट्र आफूले जितेझैँ सन्तुष्ट देखिए।
कोप–३० ले संसार खनिज इन्धन, हरित उर्जा, जलवायु वित्त र व्यापार नीतिमा कसरी ध्रुवीकृत बन्दैछ भन्ने स्पष्ट चित्र प्रस्तुत गर्यो। ‘कोप अफ ट्रुथ’ भनेर चिनिएको सम्मेलनले पाँच प्रमुख मोड देखायो।
१. ब्रजिलको सञ्चालन शैलीप्रति असन्तुष्टि
ब्रजिल र राष्ट्रपति लुला दा सिल्भाप्रति सहानुभूति रहे पनि सम्मेलनको सञ्चालन शैली कमजोर भएको सहभागीहरूले जनाए।
-
राष्ट्रपति लुला खनिज इन्धनबाट बाहिरिने मार्गचित्र चाहन्थे,
-
तर सम्मेलन अध्यक्ष आन्द्रे कोरिया दो लागो चाहिँ यस विषय उठाउँदा वार्ता भड्किन सक्छ भन्दै सर्वसम्मतिमा अडिग रहे।
समूहगत छलफलको ब्रजिलको प्रयास उल्टै बिग्रिएको वातावरण बन्यो। अरब राष्ट्रहरूले खनिज इन्धनबारे छलफल नै अस्वीकार गरे। साउदी वार्ताकारहरूले युरोपेली प्रतिनिधिलाई “ऊर्जा नीति आफ्नो राजधानीमै बनाउँछौं” भन्ने ठाडो जवाफ दिएको बताइयो।
मतभेद मिटेन, वार्ता भन्ङ्गिनै लागेको अवस्थामा ब्रजिलले कोपबाहिर रहने वनविनाश र खनिज इन्धन सम्बन्धी वैकल्पिक मार्गचित्र प्रस्तुत गर्यो—तर यसको वैधानिकता अनिश्चित छ।
२. युरोपेली संघ (ईयू) को कमजोर प्रभाव
प्यारिस सम्झौताको बलियो समर्थक ईयूको यो सम्मेलन सबैभन्दा कठिन रह्यो।
-
ईयुले खनिज इन्धनको मार्गचित्र दिनुपर्ने जोड दियो।
-
तर ‘जलवायु अनुकूलनका लागि तेबर सहायता’ प्रारम्भिक मस्यौदामै परेकाले उनीसँग विकासोन्मुख राष्ट्रहरूलाई फकाउन केही बाँकी रहेन।
शक्ति सन्तुलनमा ब्रिक्स तथा बेसिक–राष्ट्रहरूको उदय झनै स्पष्ट देखियो। ईयुले तेबर सहायता सन् २०३० बाट २०३५ सम्म सार्न त सफल भयो तर बाँकी मुद्दामा ठोस उपलब्धि जुटाउन सकेन।
३. कोपको भविष्यबारे प्रश्न
यो सम्मेलनमा बारम्बार उठेको प्रश्न—
“के अहिलेको ढाँचामा कोप आवश्यक छ?”
हजारौँ प्रतिनिधि, विशाल भौतिक संरचना, शब्द–शब्दमा बहस, राति ३ बजेसम्म चल्ने बैठक—यी सबैको प्रभावकारिता बाबत शंका बढ्यो।
अहिलेका धेरै सहभागीले कोप प्रक्रियाले स्पष्ट र बलियो लक्ष्य हराएको टिप्पणी गरे।
फोसिल फ्युअल ट्रिटी इनीसिएटिभका हरजीत सिंह भन्छन्—
“कोपलाई पूर्ण खारेज गर्न सकिँदैन, तर यसलाई नयाँ शैलीमा पुनःसक्रिय बनाउनु आजको आवश्यकता हो।”
कोपका अगुवाहरू पनि अब नयाँ कार्यान्वयन केन्द्रित मोडल खोज्नुपर्ने निष्कर्षमा पुगेका छन्।
४. पहिलोपटक ‘व्यापार’ प्रमुख मुद्दा
कोप–३० मा अन्तर्राष्ट्रिय व्यापार नीति पहिलोपटक सबै कक्षमा प्रमुखताका साथ उठाइयो।
मुख्य विषय—ईयूले कार्बन उत्सर्जन बढी हुने
-
स्टील
-
फर्टिलाइजर
-
सिमेन्ट
-
अल्युमिनियम
जस्ता उत्पादनमा लाउन लागेको कार्बन सीमा कर (CBAM)।
भारत, चीन र साउदी अरब यसबाट असन्तुष्ट छन्।
उनीहरूको तर्क—
-
एकतर्फी करले विश्व व्यापारमा असन्तुलन हुन्छ,
-
आफ्ना उत्पादन युरोपमा महँगा र कमजोर प्रतिस्पर्धी बन्छन्।
ईयूको तर्क—
-
यो व्यापारिक कदम होइन,
-
उत्सर्जन कम नगर्ने उद्योगलाई रोक्नेदेखि आफ्ना उत्पादकलाई अस्वच्छ प्रतिस्पर्धाबाट जोगाउने उपाय हो।
यो विषय पनि भविष्यको वार्ताका लागि थाँती राखियो।
५. चीन र अमेरिकाको प्रभाव
विश्वका दुई ठूलो उत्सर्जक—अमेरिका र चीन—दुवैले यो सम्मेलनमा आफ्नो प्रभाव छोडे, तर बिल्कुलै फरक शैलीमा।
-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अनुपस्थित रहे पनि उनका विचारले अमेरिका समर्थक राष्ट्रहरू जुझारु बनायो।
-
रुसले सक्रिय रूपमा मार्गचित्र रोक्न खोज्यो।
-
साउदी अरबसहितका तेल उत्पादक राष्ट्रहरूले आफ्नो परम्परागत रक्षात्मक भूमिका खेले।
चीन भने शान्त तर प्रभावकारी रह्यो—
उद्योग, सौर्य ऊर्जा र स्वच्छ प्रविधिमा आफ्नो अग्रता कायम राख्दै।



