Date

बिहि, मंसिर ११, २०८२
Thu, November 27, 2025

सहकारी दर्तामा डिजिटल कदम : NCRA को स्वचालित प्रणाली सुरु

सहकारी दर्तामा डिजिटल कदम : NCRA को स्वचालित प्रणाली सुरु

काठमाडाैं, ११ मंसिर । नेशनल कोअपरेटिभ्स रेगुलेटरी अथोरिटी (NCRA) ले बचत तथा ऋणमुखी सहकारी संस्थाको दर्ता प्रक्रियालाई पूर्ण डिजिटल बनाउन स्वचालित अनलाइन दर्ता सफ्टवेयर औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। बुधबार आयोजित कार्यक्रममा NCRA ले अबदेखि सहकारीहरूको दर्ता प्रक्रिया डिजिटल प्रणालीमार्फत स्वचालित रूपमा हुन थालेको घोषणा गरेको हो।

कार्यक्रममा NCRA का अध्यक्ष डा. खगराज शर्माले सहकारीहरूलाई क्रेडिट इन्फोर्मेशन सेन्टर (CIC) को सदस्य बन्न मिल्ने व्यवस्था गरिएको जानकारी दिए। उनले यसमार्फत सहकारीहरूलाई डिपोजिट एन्ड क्रेडिट प्रोटेक्शन फन्ड (DCPF) मा समेत सहज रूपमा समावेश हुन मद्दत पुग्ने बताए।

डा. शर्माले सहकारी क्षेत्रमा देखिएका अनियमितता, विशेषगरी मनी लन्डरिङको जोखिम न्यूनिकरणका लागि सहकारीहरूलाई निश्चित नियमन प्रणालीभित्र ल्याउनु आवश्यक रहेको उल्लेख गरे। उनले सहकारी क्षेत्रमा फैलिएको समस्या समाधानका लागि सबै पक्षको सक्रिय भूमिकाको आवश्यकता रहेको पनि बताए।

नेशनल कोअपरेटिभ फेडेरेसनका उपाध्यक्ष डीबी बस्नेतले डिजिटल दर्ता प्रणालीको सहज व्यवस्थापन गर्न आग्रह गर्दै सहकारीहरूलाई दर्ता तथा कागजात व्यवस्थापनमा NCRA ले सहयोगी भूमिका निभाउनुपर्ने धारणा व्यक्त गरे।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका कोषाध्यक्ष दीपक थापाले सहकारीहरूलाई वित्तीय सुविधा तथा प्राविधिक सहयोग आवश्यक पर्ने हुँदा NCRA ‘नियामक’ भन्दा ‘सहयोगी संस्था’ को रूपमा क्रियाशील हुनुपर्नेमा जोड दिए।

नेशनल कोअपरेटिभ बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईंले सुरु गरिएको नयाँ अनलाइन प्रणालीले सहकारी क्षेत्रको डेटा व्यवस्थापन तथा मनी लन्डरिङ नियन्त्रणमा सघाउ पुग्ने विश्वास व्यक्त गरे।

सरकारले देशभर बचत तथा ऋणसँग सम्बन्धित सहकारीलाई नियमन, अनुगमन र सुपरिवेक्षण गर्न सन् २०२५ जनवरीमा नेशनल कोअपरेटिभ्स रेगुलेटरी अथोरिटी गठन गरेको थियो।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *