दोहोरो करको चिन्ता नलिनुस् : मन्त्री खतिवडा
काठमाडौं, ८ असोज । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले उद्योगी व्यवसायी दोहोरो करमा नपर्ने प्रष्ट पारेका छन् । रुपन्देही उद्योग वाणिज्य संघका पदाधिकारीहरुसँगको छलफल कार्यक्रममा उनले मुलुक संघीय संरचनामा गएसँगै दोहोरो करको विषयलाई उद्योगी व्यवसायीहरुले धेरै उठाएको भन्दै दोहोरो कर नपर्ने प्रष्ट पारेका हुन ।
करबारे देखिएका बिवाद समाधान गर्न गठित समितिले प्रतिवेदन बुझाइसकेको र सोही आधारमा केही समस्या भए हल गर्ने आश्वासन पनि उनले दिए ।
उद्योगी व्यवसायीहरुको समस्या समाधानका लागि सरकार प्रतिवद्ध रहेको भन्दै मन्त्री खतिवडाले त्यसैका लागि सरकारले केही ऐनहरु संशोधनको काम गरिरहेको बताए । वैदेशीक लगानी प्रवद्र्धनका लागि पनि सरकारले काम गरिरहेको उनले बताए । लामो समय पछि जनताले स्थिर सरकार पाएको कारण सबै क्षेत्रबाट धेरै आशा रहेको उल्लेख गर्दै त्यसलाई निराशामा परिणत हुन नदिने आश्वासन पनि मन्त्री खतिवडाले दिए ।