नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंक बीच शुल्क भुक्तानी सम्बन्धी सम्झौता
काठमाडौं, १५ कात्तिक । नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बीच नयां जनशक्तीको लागि विज्ञापन गर्दा दरखास्त शुल्क अनलाइन प्रविधिबाट भुक्तानी गर्ने सम्बन्धमा बुधबार सम्झौता भएको छ । उक्त सम्झौता अनुसार राष्ट्र बैंकले निकट भविष्यमा नयां जनशक्ती भर्नाको लागि माग गर्ने विज्ञापनमा आवेदन गर्दा दरखास्त फारम अनलाइन प्रविधि मार्फत भर्नुपर्ने र सो को दरखास्त शुल्क राष्ट्रिय वाणिज्य बैंकको इन्टरनेट बैंकिङ्ग वा मोवाइल बैंकिङ्ग अथवा इसेवा डिजिटल सेवा मार्फत राष्ट्रिय वाणिज्य बैंकमा रहेको नेपाल राष्ट्र बैंकको खातामा सिधै रकम जम्मा हुनेछ ।
सम्झौतापत्रमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पिताम्बर भण्डारी र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले सरकारी स्वामित्वको ठूलो बैंक संग सहकार्य गर्न पााउदा खुशी लागेको बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको हाल ७४ जिल्लामा २०७ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।