मन्त्रिपरिषद् बैठकले गर्यो राजदूत सिफारिश, नागरिक लगानी कोषमा नेपाल नियुक्त

काठमाडौं । सरकारले संविधानविद एवम् पूर्व कानूनमन्त्री निलाम्बर आचार्यलाई भारतका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार साँझ सम्पन्न मन्त्रिपरिषद् बैठकले आचार्यलाई राजदूतमा सिफारिश गरेको हो । गत वर्ष मंसिरमा दीपकुमार उपाध्याय फर्किएपछि खाली भएको भारतमा आचार्य राजदूतका रूपमा सिफारिस भएका हुन् ।
आचार्य श्रीलंकाका लागि पूर्व नेपाली राजदूत हुन् । यसअघि सरकारले पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई भारतका लागि राजदूतमा सिफारिस गरेपनि निर्णय संविधानको व्यवस्थासँग बाझिएपछि आचार्यलाई सिफारिश गरिएको छ ।
त्यस्तै, मन्त्रिपरिषद् बैठकले उदयराज पाण्डेलाई मलेसियाका लागि राजदूतमा सिफारिस गरेको छ । पाण्डे यसअघि साउदी अरबका लागि राजदूत थिए ।
सरकारले संयुक्त अरब इमिरेट्समा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्ण ढकाललाई नियुक्तिको सिफारिस गरेको छ ।सरकारको सिफारिशपछि संसदीय सुनुवाइको प्रक्रिया पूरा भएपछि राजदूतहरुको नियुक्ति हुने कानुनी व्यवस्था छ ।
नागरिक लगानी कोषमा रमण नेपाल
त्यस्तै, मन्त्रिपरिषद् बैठकले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा रमण नेपाललाई नियुक्त गर्ने निर्णय गरेको छ । नेपाल, नेपाल राष्ट्र बैंकका अवकाशप्राप्त निर्देशक हुन् । अर्थमन्त्रालयले गठन गरेको नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनौट सिफारिश समितिले गत कार्तिक ८ मा शैक्षिक योग्यता र व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणका आधारमा आवेदकहरुमध्येबाट पाँच जनाको नाम सिफारिश गरेको थियो । सिफारिश समितिले ऋषिराम गौतम, कपिलमणी ज्ञवाली, रमण नेपाल, शिवहरि श्रेष्ठ तथा शेषरमण आचार्यलाई कार्यकारी निर्देशकका लागि सर्ट-लिस्टीङ गरेको थियो ।