Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेपाल–अमेरिका टीफा काउन्सिलको बैठक बस्दै

नेपाल–अमेरिका टीफा काउन्सिलको बैठक बस्दै

काठमाडौं । नेपाल र संयुक्त राज्य अमेरिकाबीच भएको ट्रेड एण्ड इन्भेष्टमेन्ट फ्रेमवर्क एग्रीमेन्ट (टीफा) काउन्सिलको चौथो बैठक मंगलबार अमेरिकी राजधानी वासिंगगटनमा बस्ने भएको छ । सन् २०११ मा दुई देशबीच टीफामा हस्ताक्षर भएयता यो चौथो बैठक हो । हरेक वर्ष आलोपालो एक अर्को देशमा बैठक आयोजना गर्ने सहमति भएपनि पहिलो बैठकपछि दोस्रो बैठक लामो अन्तरालमा सन् २०१५ मा बसेको थियो भने तेश्रो बैठक दुई वर्षपछि सन् २०१७ मा भएको थियो ।
व्यापार विस्तार र लगानी प्रवद्र्धनको उद्देश्यले द्विपक्षीय सम्झौता भएको भएपनि यसतर्फ कुनै उल्लेख्य प्रगति भएको छैन । नेपालले अमेरिकी लगानी आकर्षित गर्न यो प्लेटफर्मको उपयोग गर्न सकेको छैन । यद्यपि अमेरिकी लगानीका भित्र्याउन चाहिने पूर्वशर्तका सम्बन्धमा बैठकका क्रममा छलफल हुने बताइएको छ । अमेरिकी लगानी प्रवद्र्धनका लागि अमेरिकाले कानूनी शासन, पूर्वाधार व्यवस्थापनका साथै बौद्धिक सम्पत्ति सम्बन्धि अधिकारको सुनिश्चिततामा जोड दिदैं आएको छ । बौद्धिक सम्पत्ति सम्बन्धि पुराना कानूनमा सुधार, एउटै नियामक निकायको स्थापना तथा बौद्धिक सम्पत्ति सम्बन्धि सचेतनामा जोड दिइएको छ । अमेरिकी कम्पनीहरु बौद्धिक सम्पत्तिको मामलामा अत्यन्तै सचेत छन् तर नेपालमा भने बौद्धिक सम्पत्तिको रक्षाका लागि बलियो कानूनी आधार छैन । ट्रेडमार्कसम्बन्धि कानुनमा जसले पहिले ट्रेडमार्क दर्ता गर्यो उसैको हुने व्यवस्था छ । बौद्धिक सम्पत्ति सम्बन्धि कानुनका विश्वव्यापी प्रचलित मान्यताका आधारमा यस्ता कानुन सुधार तथा कानुन कार्यान्वयन निकायलाई सशक्त बनाउने सम्बन्धमा अघिल्लो टीफा बैठकका क्रममा पनि छलफल भएको थियो ।
त्यस्तै, नेपालले अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशाला स्थापना तथा नेपाललाई व्यापार सहजीकरण गर्ने सम्बन्धि कानुनमा व्यवस्था भएको प्राविधिक सहायता परिचालका सम्बन्धमा अमेरिकी अधिकारीहरुसँग छलफल गर्नेछ । यसैबीच अमेरिकाले नेपाली निकासीकर्तालाई दिएको दिएको शून्य भन्सार सुविधाको प्रभावकारी उपयोगका सम्बन्धमा पनि छलफल हुनेछ । अमेरिकाले सन् २०२५ सम्मका लागि नेपाललाई ७७ वस्तुमा शून्य भन्सार सुविधा दिएपनि नेपालले त्यसको प्रभावकारी उपयोग गर्न सकेको छैन । यसका लागि पनि अमेरिकी लगानी नेपाल भित्र्याउन सरकारले पहल गरिरहेको छ । बैठकमा नेपालका तर्फबाट वाणिज्य सचिव चन्द्र घिमिरेले नेतृत्व गर्नेछन् भने उनको टोलीमा वाण्ज्यिकै सहसचिव रविशंकर सैंजू, अर्थ मन्त्रालयका उपसचिव सेवन्तक पोखरेल, कृषि मन्त्रालयका सहसचिव, वाणिज्यबाट सिर्जना तिवारी सहभागी छन् । त्यस्तै संयुक्त राज्य अमेरिकाका तर्फबाट ट्रेड रिप्रिजेन्टेटीभ कार्यालयका उच्च अधिकारी सहभागी हुनेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x