विकास बजेट खर्च गर्नै मुश्किल, चार महिनामा ११ प्रतिशत मात्र खर्च

काठमाडौं, २३ मंसिर । सरकारले विकास निर्माणलाई तीब्रता दिइरहेको रटान लगाएपनि विकास निर्माणको काम भने कुछुवा गतिमा छ । चालु आर्थिक वर्षको पहिलो चार महिना सकिन लाग्दा केन्द्र सरकारले आफ्नो विकास बजेट ज्यादै न्यून मात्र खर्च गर्न सकेको छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार मंसिर १९ गते सम्म कुल बजेटको ११ प्रतिशत अर्थात ३४ अर्व ९८ करोड रुपैयाँ मात्र विकास बजेट खर्च भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले ३ खर्व ३५ अर्व रुपैयाँ विकास बजेट छुट्याएको छ ।
त्यस्तै विकास बजेट खर्चको अवस्था प्रदेश स्तरमा पनि उस्तै छ। कतिपय प्रदेशका मुख्य मन्त्रीहरुले मानवस्रोत लगायत अन्य आवश्यक संरचनाको अभाव रहेको कारण विकास निर्माणको कामलाई तीब्र बनाउन नसकेको बताएका छन् । जसको कारण मुलुकको विकास निर्माणको काम सुस्त बन्न पुगेको छ।
राज्यको संरचना परिमार्जन भएपनि विकास निर्माणको कामले गति लिने आमनागरिकको अपेक्षा थियो । तर चार महिना सकिन लाग्दा पनि विकास निर्माणको काम उत्साहजनक रुपमा हुन सकेको छैन ।
गत वर्ष पनि विकास बजेट खर्चको स्थिती उत्साहजनक थिएन । आर्थिक वर्षको अन्त्यमा मात्रै खर्च गर्ने परिपाटीले आयोजनाको दिगोपनामा प्रभाव पारेको छ भने संस्थागत भ्रष्टाचार समेत मौलाईरहेकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । अहिले सम्मको सरकारी कार्यशैली हेर्दा यो वर्ष पनि विगतकै हवि दोहोरिने आकलन गर्न थालेका छन् ।