अख्तियारको निर्णय कार्यान्वयनबाट १६ करोड रकम असुली
काठमाडौं, ९ पुस । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्णय कार्यान्वयनबाट आर्थिक वर्ष २०७४/०७५ मा १६ करोड १३ लाख १३ हजार रुपैयाँ असुली गरेको छ। अख्तियारद्धारा आज जारी गत आवको बार्षिक प्रतिवेदन अनुशार यस बर्ष अघिल्लो आर्थिक वर्षको तुलनामा दोब्बर बढी रकमा असुली गरिएको हो । अघिल्लो आर्थिक वर्ष २०७३/०७४ मा ८ करोड ५५ लाख ८४ हजार रुपैयाँ असुली भएको थियो ।
यसै गरी विभिन्न प्रपञ्च रहेर व्यक्तिको नाममा गराइएको तराईमा ४१० विघा १३ कठ्ठा १२ धुर र पहाडमा ५३ रोपनी ६ आना जग्गा सरकारको नाममा कायम गराईएको प्रतिवेदनमा उल्लेख छ । विस्तृत अनुसन्धान गरिएका मध्ये २०२ उजुरी तामेली र १० वटा मुल्तवीमा राखिएको आयोगले जनाएको छ । ४५ वटा उजुरीमा सम्बद्ध निकायलाई सुझाव दिइएको छ भने ६४ वटामा कारवाहीको सिफारिस गरिएको आयोगले जनाएको छ ।
आयोगका अनुशार सबैभन्दा बढी भ्रष्टाचारसम्बन्धी उजुरी शिक्षा क्षेत्रबाट पर्ने गरेको छ । आर्थिक वर्ष २०७४/०७५ मा १८.३२ प्रतिशत उजुरी शिक्षा क्षेत्रमा परेको छ । त्यस पछि सवै भन्दा बढी उजुरी १८.०२ प्रतिशत उजुरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित छ । अघिल्लो आर्थिक वर्षको तुलनामा संघीय मामिलामा तीन प्रतिशत उजुरी बढेको देखिन्छ । मेयर उपमेयर बीचको समन्वयको उजुरीका कारण पनि यो संख्या बढेको हुन सक्ने अनुमान अख्तियारको रहेको छ ।