अनलाइन कारोवार प्रणालीका लागि बैंकमा अलग्गै खाता खोल्न नेप्सेको आग्रह

काठमाडौ,१३ पुस । पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीका लागि बैंकमा अलग्गै खाता खोल्नु पर्ने भएको छ । नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली सञ्चालनमा ल्याएको भए पनि राफसापका लागि धितोपत्र दलाल व्यवसायीकहाँ नै जानुपर्ने बाध्यतालाई अन्त्य गर्न अलग्गै खाता खोल्न लगानीकर्तालाई आग्रह गरेको हो ।
यस्तै स्टककले लगानीकर्ताले धितोपत्र दलाल व्यवसायी कहाँ खोलेको कारोवार खाताको व्यक्तिगत विवरण अद्यावधिक गर्न, हितग्राही खाताको सम्पूर्ण जानकारी दिन, एक हितग्राही खातामा एउटा मात्रै कारोवार खाता आबद्ध गर्नसमेत आग्रह गरेको छ ।
नेप्सेले तोकेको राफसाफ बैंकमा कारोवारका लागि अलग्गै खाता खोली धितोपत्र दलाल व्यवसायीसँग रकमान्तर गर्ने व्यवस्था मिलाउन र त्यस्तो बैंकबाट ई बैंकिङ सुविधा अनिवार्य रुपमा लिन पनि आग्रह गरेको छ ।
व्यवसायीलाई अनिवार्य रुपमा आफूले चलाइरहेको इमेल ठेगाना उपलब्ध गराउन, तोकिएको कारोवार सदस्य ग्राहक सम्झौता गर्न, आवश्यकताअनुसार रकम जम्मा गरी व्यवसायीबाट कारोवार सीमा लिन, कारोवारबाट बाँकी रकम बैंकिङ प्रणालीबाट फिर्ता लिन व्यवसायीलाई अनुरोध गर्ने र त्यस्तो अनुरोध प्राप्त भएको २४ घण्टाभित्र रकम प्राप्त भएको सुनिश्चित गर्न, हितग्राही खातामा रहेको रकममा मात्र बिक्री गर्न सकिने र धितोमा राखेको वा रोक्का रहेको धितोपत्र बिक्री नगर्न ध्यानकर्षण गराएको छ ।
नेप्सेले यही पुस १७ गतेबाट बैंकिङ प्रणालीसँग एकीकृत गरी अनलाइन कारोवार प्रणालीलाई थप व्यवस्थित गर्न बताएको छ ।