स्वावलम्बन लघुवित्तले पुस २५ गते साधारण सभा गर्ने
काठमाडौं । स्वालम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले लिसारा, रिसेप्सन्स , नक्साल, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । साथै प्रस्तावित लाभांशलाई समेत सभाले अन्तिम स्वीकृति दिनेछ ।
यस वर्ष कम्पनीले हालसम्मकै कम लाभांश वितरण गर्ने भएको छ । मंसिर ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८१/८२ को मुनाफाबाट हाल कायम चुक्तापूँजी १ अर्ब ६५ करोड ६६ लाख २५ हजार रुपैयाँको आधारमा कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कुल लाभांशमध्ये ५ दशमलव ६३६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४ दशमलव ३६६५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत नगद लाभांश रहेको छ । विगतका वर्षहरुमा ७० प्रतिशतसम्म लाभांश वितरण गरेको कम्पनीले यस वर्ष भने हालसम्मकै कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष भने कम्पनीले १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
उल्लेखित प्रस्तावसहित शेयर संरचना परितर्वनको प्रस्ताव पनि सभाका लागि तय भएको छ । हाल कायम संस्थापक तर्फको ६० प्रतिशतलाई ५१ प्रतिशत कायम गर्ने प्रस्ताव सभाले पारित गर्नेछ । सर्वसाधारणमा भने ९ प्रतिशत विन्दु शेयर परिवर्तन हुनेछ । यसका साथै अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले गर्नेछ । सभा प्रयोजनका लागि पुस १३ गते बुक क्लोज गर्ने तयारी कम्पनीले गरेको छ । बुक क्लोजको अघिल्लो कारोबार दिन पुस १० गते बिहीवार सार्वजनिक विदा परेकाले पुस ९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।




