स्वर्गीय राजा वीरेन्द्र शाहको ७३ औँ जन्मजयन्ती, विरेन्द्र परिवारको सम्पति भाडामा लगाइने

काठमाडौं १४ पुस । आज पुस १४ स्वर्गीय राजा वीरेन्द्र शाहको ७३ औँ जन्मजयन्ती । वि.स २००२ साल पुस १४ गते जन्मिएका शाहवंशका दशौं राजा विरेन्द्रको २०५८ साल जेठ १९ गते नारायणहिटी हत्याकाण्डमा ज्यान गएको थियो । नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवी बनाएका वीरेन्द्रलाई जनप्रेमी राजाका रुपमा पनि चिनिन्छ । गणतन्त्रो स्थपना सँगै सरकारले उनको परिवारको नाममा रहेको संम्पति ट्रष्टको मताहतमा राखेको ल्याएको छ ।
कति रहेछ विरेन्द्र परिवारको सम्पति
हालसम्म पत्ता लागेको राजा वीरेन्द्रका परिवारका नाममा रहेको २१ हजार ५ सय ६३ रोपनी जग्गा अहिले नेपाल ट्रष्टको स्वामित्वमा छ। उक्त जग्गामध्ये काठमाण्डूमा १५१ कित्तामा ४४३८ रोपनी छ। भक्तपुर, ललितपुर, नुवाकोट, धनकुटा, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सुर्खेत, कास्की, चितवन र धादिङमा समेत जग्गा रहेको छ । जमिनका अतिरिक्त तयारी अवस्थामा रहेका भवनहरू पनि रहेका छन् जसमा गोकर्ण फरेष्ट रिसोर्ट, काठमाण्डू प्लाजा, लाजिम्पाटस्थित स्ट्याण्डर्ड चार्टर्ड ब्याङ्क रहेको भवन, टेकुस्थित बिजनेस पार्क र कालिमाटीमा रहेको सोल्टी आउटर कम्प्लेक्स रहेका छन्।
त्यस्तै पोखराको फेवातालमा रहेको रत्नमन्दिर भवन, भक्तपुरस्थित दियालो बंगला, र हेटौंडामा कान्ति ईश्वरी भवन लगायतका छन्। ती मध्येका केही राजा वीरेन्द्रकै पालामा भाडामा दिइएका र पहिलेकै सम्झौताअनुसार भाडामै चल्दै आएका छन् । जसमा गोकर्ण फरेष्ट रिसोर्ट, काठमाण्डू प्लाजा, लाजिम्पाटस्थित स्ट्याण्डर्ड चार्टर्ड ब्याङ्क रहेको भवन, टेकुस्थित बिजनेस पार्क रहेका छन्। केही भवन सरकारी र संस्थालाई समेत दिइएका छन्।
सरकारले हाल ट्रष्टको मताहतमा ल्याइ राष्ट्रियकरण गरिएको विरेन्द्र परिवारको सम्पत्ति भाडामा दिन कानुन संशोधनको गृहकार्य शुरु गरेको छ । जसको लागि कानून सशोधन प्रस्ताव सदनमा दर्ता गरिएको छ ।