पोखरामा सडक महोत्सव सुरु

काठमाडौं, १४ पुस । ‘सडकमै खाऔं, सडकमै नाँचौं, सडकमै रमाऔं भन्ने मूलनारा सहित पोखराको फेवाताल किनारमा शुक्रबारदेखि २०औं पोखरा सडक महोत्सव सुरु भएको छ ।
महोत्सवको गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे ।
उनले सरकारले घोषणा गरेको पर्यटन वर्षलाई सफल पार्न पर्यटन व्यवसायीहरुको साथ र सहयोग आवश्यक रहेको बताए । उनले पर्यटकका लागि चाहिने आवश्यक पूर्वाधार निर्माणका लागि लगानी गर्न आग्रह पनि गरे । नेपाल आएका पर्यटकमध्ये ४० प्रतिशत पर्यटक पोखरा आउने गरेका छन् । मुख्यमन्त्री गुरुङले पर्यटकहरु लागि आवश्यक होटल, सडक, विमानस्थललगायतका क्षेत्रमा सरकारले पूर्वाधार बनाइरहेको बताए ।
महोत्सव यही पुस १७ गतेसम्म चल्नेछ । महोत्सव अवधिभरका लागि लेकसाइड क्षेत्रको साढे तीन किलोमिटर क्षेत्रलाई दुलहीझैं सिँगारिएको छ । सो क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ ।
अंग्रेजी नयाँ वर्ष २०१९ को अवसरमा आयोजित महोत्सव अवधिभर लेकसाइड क्षेत्रका १०० बढी रेस्टुरेन्ट तथा बारहरुले सडकमै सेवा दिनेछन् ।