वाइड बडी प्रकरण – कंसाकारको मुख्य डिजाइनमा कुन मन्त्री कसरी मुछिए ?
काठमाडौं,१९ पुस । संसदीय छानबिन उपसमितिले नेपाल वायुसेवा निगमका दुईवटा वाइड बडी विमान खरिदमा चार अर्ब ३५ करोड ५६ लाख रुपैयाँ घोटाला भएको ठहर गर्दै पूर्व दुई सहित बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीलाई कारबाही सिफारिस गरेको छ। उनिहरूमाथि समितिले कारवाहीको सिफारिस गर्नु यस्तो छ कारण ।
बाहालवाला मन्त्री रवीन्द्र अधिकारी : प्रतिवेदनले बाहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाइ कारवाहीको सिफारिस गरेको छ । महालेखा परीक्षकको ५५औं वार्षिक प्रतिवेदनमा निगमको विमान खरिद प्रक्रिया कानुनविपरीत देखिएको उल्लेख हुँदाहुँदै छानबिन गर्नुको सट्टा अधिकारीले किस्ता रकम भुक्तानी गर्न आदेश दिएको र सत्यतथ्य बाहिर नल्याएकाले उनलाई कानुनी कारबाही हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ। त्यसैगरी, उपसमितिको छलफलमा महालेखासँग परामर्श लिएर किस्ता भुक्तानी गरेको भनेर बोलेको झुट ठहरिएकाले अधिकारीको बदनियतपूर्वक मिलेमतो रहेको देखिँदा उनी जिम्मेवारीबाट पन्छिन नमिल्ने प्रतिवेदनमा उल्लेख छ।
पूर्वमन्त्री जितेन्द्रनारायण देव
हाल राष्ट्रिय सभाका सदस्य रहेका तत्कालिन पर्यटनमन्त्री हुँदा जितेन्द्रनारायण देवले जहाज खरिदमा हाई फ्लाइ एक्स, आयरल्यान्ड कम्पनीसँग कानुनविपरीत सम्झौता भएको कुरा बेवास्ता गरी पहिलो किस्ताबापतको रकम सोही हाई फ्लाइ एक्स आयरल्यान्डलाई भुक्तानी दिन सटही सुविधाका लागि सचिवस्तरीय निर्णय गर्न लगाएकाले नैतिक जिम्मेवारी लिनुपर्ने देखिन्छ। यसै आधारमा उनलाई दोषी ठहर गर्दै कानुनसम्मत कारबाहीका लागि निर्देशन दिन सिफारिस गरिएको प्रतिवेदनमा उल्लेख छ।
पूर्वमन्त्री जीवनबहादुर शाही
कार्णाली प्रदेश सभा सदस्य एव पूर्वमन्त्री जीवनबहादुर शाहीले सार्वजनिक खरिद ऐन २०६३ विपरीत अनियमित तरिकाले विमान खरिद कार्य हुँदा पनि बैना रकम पठाउन सटही सुविधा प्रदान गर्ने निर्णय गरेकाले नैतिक जिम्मेवारी लिनुपर्ने देखिएको प्रतिवदेनमा उल्लेख छ। शाहीले चालेको कदम पनि कानुनसम्मत नरहेकाले कारबाहीका लागि निर्देशन गरिएको उल्लेख छ।
सुगतरत्न कंसाकार
उपसमितिले मुख्य दोषी निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई देखाएको छ। प्रतिवेदन अनुसार विमान खरिदमा संलग्न निगम सञ्चालक समितिका सदस्य तथा विभिन्न उपसमितिमा रहेका व्यक्ति र संलग्न देखिएका अन्य व्यक्तिलाई पनि अख्तियार दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा कानुनी कारबाही अगाडि बढाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनको अनुसूचीमा उल्लेख भएअनुसार सञ्चालक समितिबाट विमान खरिद निर्णय गर्दा विभिन्न समयमा गरी १४ जना संलग्न छन्। यसबोहक निगमले बनाएका विभिन्न आठ उपसमितिका ६२ जना सदस्य संलग्न छन्। कतिपय सदस्य भने विभिन्न उपसमितिमा दोहोरिएका छन्। ती सबै सदस्यलाई आवश्यक देखिएमा कारबाही गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।