बुद्ध एयरले बैशाख देखि काठमाडौं–कोलकाता उडान गर्ने
काठमाडौं, ३ माघ । बुद्ध एयरले आगामी वैशाख २ गतेदेखि काठमाडौं–कोलकाता उडान गर्ने भएको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरि कम्पनीले यस्तो जानकारी दिएको हो ।
सो एयरले अहिले सातामा दुईपल्ट काठमाडौं–बनारस उडान गर्दै आएको छ । कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले अन्तर्राष्ट्रिय उडानको पहिलो गन्तव्यमा सफलता मिलेकाले कम्पनी अन्य गन्तव्यमा उडान गर्न तयार भएको बताए ।
कम्पनीले परीक्षण उडानका लागि हाल प्रयोगमा आइरहेका एटीआर–७२ विमान प्रयोगमा ल्याउने बताएको छ । बस्नेतका अनुसार अन्तर्राष्ट्रिय उडान जोखिमपूर्ण हुने र परीक्षण नगरी लगानी गर्दा धेरै घाटा र खर्च हुने भएकाले तत्काल परीक्षणका लागि एटीआर विमान प्रयोग गर्न लागिएको हो । परीक्षण उडान सफल नभए खर्च र घाटा कम हुने कम्पनीको विश्लेषण छ । परीक्षण सफल भएपछि कम्पनीले जेट विमानहरूबाट २०७७ भदौदेखि दक्षिण एशियाका विभिन्न गन्तव्यरमहानगरमा उडान गर्ने तयारी गरेको छ ।