Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

१८ किलो सुन प्रकरणमा थप अनुन्धान जारी

१८ किलो सुन प्रकरणमा थप अनुन्धान जारी

कंचनपुर, ०३ फागुन ।  कञ्चनपुरको पुनर्बासबाट बरामद भएको १८ किलो सुन प्रकरणमा संलग्नताको आशंकामा सादा पोशाकका एक प्रहरी र उनका भाइ पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार कैलालीमै कार्यरत सादा पोशाक परिचालित हुने (घुमुवा) प्रहरी जवान सुरज तिरूवा र उनका भाइ लक्ष्मण तिरूवा रहेका छन्।

निर्मला पन्त हत्याको अनुसन्धानका लागि कञ्चनपुरमै रहेको सीआईबी, अपराध महाशाखा, कैलाली र कञ्चनपुर प्रहरीको टोलीले सुन बरामद गरेको हो। उपत्यका बाहिर पक्राउ परेको यो ठूलो परिमाणको सुन रुपन्देहीको सुनौली नाकामार्फत कैलाली हुँदै कञ्चनपुर पुगेको थियो। स्रोतका अनुसार यो अवैध सुन हो।

सुनका मालिक भारतीय नागरिक भएको र उनी दिल्लीमा बस्दै आएको बताइएको छ। प्रहरी स्रोतका अनुसार दुई महिनाअघि नै सुन कैलाली पुगेको हो। लक्ष्मणले भारतबाट भारतीय नागरिकको गाडीसहित सुन ल्याएको प्रहरी स्रोतको भनाइ छ। ‘भारतीय नागरिकले कैलालीबाट गाडी लिएर गए,’ प्रहरी स्रोत भन्छ, ‘तर, तस्करीको सुन भएकाले कहिँकतै प्रहरीमा उजुरी गरेनन्। सुन कैलाली पुर्याएपछि लक्ष्मण फरार भएका थिए।’

लक्ष्मणका दाइ सुरज नेपाल प्रहरीमा कार्यरत भएकाले उनले आफ्नो ससुरालीमा सुन खाल्टोमुनि लुकाएर राखेका थिए। भारतीय व्यापारीले नेपालबाट त्यो सुन भारत लगेको हुन सक्ने आशंका छ। लक्ष्मण भारतीय व्यापारीको चालकको रुपमा काम गर्दै आएको बताइएको छ। सुन बेच्ने र सुनबारे जानकारी भएकालाई मिलाउने विषयमा विवाद हुँदा सुनको सूचना चुहिएको प्रहरी स्रोतले बतायो।

सुन १८ किलोग्राम मात्रै हो वा अरु पनि थियो भन्नेबारे अनुसन्धान भइरहेको सीआईबी स्रोतले जनाएको छ। ‘प्रहरीले ठूलो सफलता पारेको छ, काठमाडौं बाहिर यति ठूलो परिमाणमा सुन कमै समातिएको छ’ एक अधिकारीले भने। सुन तस्करहरुले भारतबाहेक तेस्रो मुलुकबाट सुन नेपालको बाटो हुँदै भारत लैजाने गरेको विभिन्न अनुसन्धानले देखाएको छ। त्यो सुनपनि नेपाल हुँदै भारत गएको र भारतबाट लक्ष्मणले नेपाल ल्याएको हुनसक्ने अनुसन्धानले देखाएको एक अधिकारीले बताए। साढे ३३ किलो सुन प्रकरण चर्चामै रहेको बेला प्रहरीले कञ्चनपुरबाट १८ किलोग्राम सुन बरामद गरेको हो। नेपाली बजारमा १८ किलो सुनको मूल्य ९ करोड रुपैयाँ हुने प्रहरीले बताएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x