नागरिक लगानी कोष अपवाद नबनोस् – अर्थमन्त्री खतिवडा
काठमाडौं, ४ चैत । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकमा निमार्णधिन सबै नयाँ भवनहरुको निमार्ण कार्य तिव्र गतिमा हुनै पर्ने बताएका छन् । सोमबार कोषको २९ औं वार्षिकउत्सव र नयाँबानेश्वर स्थित तरकारी बजारमा कोषको भवन शिलान्यास कार्यक्रममा मन्त्री खतिवडाले यस्तो कुरा बताएका हुन् । नयाँ भवनको शिलान्यास गर्दै मन्त्री खतिवडाले आफुले शिलान्यास गरेको हरेक भवनको निर्माण तीव्र गतिमा हुनै पर्ने भन्दै उनले – ‘म हतपत कुनै पनि खाल्टोमा पस्दै पस्दिन पसे पछि त्यसको रिजल्ट निस्कनु पर्छ, त्यसमा नागरिक लगानी कोष अपवाद नबनोस, म पुनः अनुगमनमा आउँछु ।’
साथै उनले नागरिक लगानी कोष सरकारले शुरु गरेको सामाजिक सुरक्षामा भरपर्दो सहयात्री बन्नु पर्ने बताएका छन् । मन्त्री खतिवडाले कोषको दीर्घकालिन पुँजी बजारमा महत्व पूर्ण भूमिका भएकाले सरकारको भरपर्दाे सहयात्री बन्नु पर्नेमा जोड दिएका हुन् ।
नेपालमा सामाजिक सुरक्षाको क्षेत्रमा काम गर्ने संस्था धेरै भएको र ति संस्थाले दिने सेवा एउटै प्रकृतिको भएको हुँदा सबैलाई कोषले नेतृत्वदायी भुमिका निर्वाह गर्दै अगाडी बढ्नु पर्ने मन्त्री खतिवडाको भनाई छ । उनले भने–‘सामाजिक सुरक्षा सम्बन्धी काम गर्ने संस्थाहरु धेरै छन् । सम्पूर्ण संस्थालाई एकै ठाउँमा ल्याएर सुरक्षित र भरपर्दाे सेवा दिने योजनामा छौं । यो छिट्टै सम्भव नहोला तर ५ वर्ष भित्रमा सामाजिक सुरक्षा र बीमामा सबैको पहुँच एकै ठाउँबाट दिइने छ ।’
नागरिक लगानी कोषले विभिन्न ११ वटा बचत योजनामा देशभरका ४ सय संघसंस्थाका ६ लाख ३१ हजार कर्मचारीको बचत संकलन गर्दै आएको छ । आगामी दिनमा बचतका नयाँ नयाँ योजना ल्याउने कोषले जानकारी दिएको छ ।