Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

वाणिज्य बैंकहरुले कसरी पुर्याउँदै छन् चुक्ता पुँजी ८ अर्ब

वाणिज्य बैंकहरुले कसरी पुर्याउँदै छन् चुक्ता पुँजी ८ अर्ब

काठमाडौं, २८ मंसिर । नेपाल राष्ट्र बैंकले दुई वर्ष अघि मौद्रिक नितीमार्फत वाणिज्य बैंकहरुको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउन पर्ने निर्देशन दिएको थियो । तत्कालिन अवस्थामा वाणिज्य बैंकहरुको चुक्ता पुँजी २ अर्ब रुपैयाँ हुनुपर्ने प्रावधान रहेको थियो । तर राष्ट्र बैंकले एकपटकमा ४ गुणाले चुक्ता पुँजी वृद्धि गर्न निर्देशन जारी गरेको थियो । यसरी चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने निर्देशन जारी भएपछि वाणिज्य बैंकहरुसंग मर्जर, बोनस शेयर, हकप्रद शेयर र थप नयाँ शेयर जारीको विकल्पहरु थिए । सोहि अनुरुप नै वाणिज्य बैंकहरुले विकल्पहरुको प्रयोग गरेको पाइयो ।

अहिले मुलुकमा २९ वाणिज्य बैंकहरु संचालनमा रहेका छन् । जसमध्ये ३ वाणिज्य बैंकहरुको सरकारको स्वामित्व रहेको छ भने बाँकीका २६ वाणिज्य बैंकहरु निजी क्षेत्रबाट संचालन हुँदै आएका छन् ।

कुन बैंकले कसरी पुर्याउँदै छन् ८ अर्ब रुपैयाँको चुक्ता पुँजी

राष्ट्रिय वाणिज्य बैंकः राष्ट्रिय वाणिज्य बैंक पुर्णरुपमा सरकारको स्वामित्वमा संचालनमा रहेको वाणिज्य बैंक हो । बैंकको हाल चुक्ता पुँजी ८ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । बैंकले साधारण शेयर निष्कासन गरेको छ्रैन ।

नेपाल बैंकः नेपाल बैंक लिमिटेडमा सरकार र सर्वसाधारण शेयरलगानीकर्ताहरुको स्वामित्व रहेको छ । बैंकको हाल चुक्ता पुँजी ८ अर्ब ४ करोड रुपैयाँ रहेको छ ।

कृषि विकास बैंकः कृषि विकास बैंकमा सरकार र सर्वसाधारण शेयरलगानीकर्ताहरुको शेयर स्वामित्व रहेको छ । बैंकको हाल चुक्ता पुँजी ७.०८ अर्ब रुपैयाँ रहेको छ । यस बैंकले चालु आर्थिक वर्ष भित्र ८ अर्ब चुक्ता पुँजी पुर्याउनका लागि बोनस शेयर दिने सम्भावना रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकः निजी क्षेत्रबाट संचालनमा आएको नेपाल इन्भेष्टमेन्ट बैंकले ८ अर्ब पुर्याउने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो । बैंकले ८ अर्ब रुपैयाँको चुक्ता पुँजी पुर्याउनका लागि एफपिओ, बोनस शेयर, मर्जरको विकल्प अपनाएको छ । बैंकले प्रस्ताव गरेको १५ प्रतिशत बोनस शेयरको पुँजीकरण पछि बैंकको चुक्ता पुँजी १० अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ ।

एनआईसि एसियाः एनआईसि एसिया बैंकले बोनस शेयर जारी मार्फत तोकिएको चुक्ता पुँजी पुर्याएको छ । बैंकले दिएको २० प्रतिशत बोनस शेयर पछिको पुँजीकरण पछि चुक्ता पुँजी ८ अर्ब ३ करोड रुपैयाँ चुक्ता पुँजी पुग्नेछ ।

नबिल बैंकः नविल बैंकले बोनस शेयरमार्फत नै ८ अर्ब रुपैयाँको चुक्ता पुँजी पुर्याएको छ । बैंकको पछिल्लो साधारण सभाले पारित गरेको ३० प्रतिशत बोनस शेयरको पुँजीकरण पछि चुक्ता पुँजी ८ अर्ब ३ करोड रुपैयाँ पुग्दैछ ।

नेपाल बंंगलादेश बैंकः नेपाल बंगलादेश बैंकले हकप्रद र बोनस शेयरको माध्यमबाट ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याएको हो । बैंकको साधारण सभामा पारित भएको १२ प्रतिशतको बोनस शेयर पछि बैंकको चुक्ता पुँजी ८ अर्ब ८ करोड रुपैयाँ पुग्नेछ ।

सिटिजन्स इन्टनेश्नलः सिटिजन्स बैंकले हकप्रद र बोनस शेयरबाट तोकिएको चुक्ता पुँजी पुर्याएको हो । बैंकको साधारण सभाले पारित गरेको १६ प्रतिशतको बोनस शेयरको पुँजीकरण पश्चात चुक्ता पुँजी ८ अर्ब २ करोड रुपैयाँ पुग्ने छ ।

सानिमा बैंकः सानिमा बैंकले हकप्रद र बोनस शेयरबाट तोकिएको चुक्ता पुँजी पुर्याएको हो । बैंकले पारित गरेको १६ प्रतिशत बोनस शेयर पछि बैंकको चूक्ता पुँजी ८ अर्ब रुपैयाँ पुग्ने बताइएको छ ।

ग्लोबल आइएमईः ग्लोबल आइएमईले पारित गरेको १० प्रतिशत बोनस शेयर पछि बैंकको चुक्ता पुँजी ८ अर्ब ८ करोड रुपैयाँ पुग्ने छ । बैंकले मर्जर, बानेस शेयरबाट ८ अर्बको चुक्ता पुँजी पुर्र्याएको हो ।

लक्ष्मी बैंकः लक्ष्मी बैंकको चुक्ता पुँजी बोनस शेयरबाट ८ अर्ब रुपैयाँ पुगेको छ । बैंकले १० प्रतिशतको बोनस शेयर पारित गरेको छ । जुन पुँजीकरण भएपछि बैंकको चुक्ता पुँजी ८ अर्ब २१ करोड रुपैयाँ पुग्ने छ ।

माछापुच्छे्र बैंकः माछापुच्छे्र बैंकले पारित गरेको ९ प्रतिशतको बोनस शेयर पछि चुक्ता पुँजी ८ अर्ब ५ करोड रुपैयाँ पुग्ने छ ।
एभरेष्ट बैंकः एभेष्ट बैंकले आगामी साधारण सभामा ३३ प्रतिशत बोनस शेयर दिने भएको छ । उक्त बोनस शेयर पछि बैंकको चुक्ता पुँजी ८ अर्ब १३ करोड रुपैयाँ पुग्ने छ ।

प्राइम कमर्सियलः प्राइम कमर्सियलले बानेस शेयर जारी गरेर चुक्ता पुँजी ८ अर्ब पुर्याउने भएको छ । बैंकले आगामी साधारण सभामा २७ प्रतिशत बोनस शेयर दिएर चुक्ता पुँजी ८ अर्ब २ करोड रुपैयाँ पुर्याउने छ ।

नेपाल एसबिआइः नेपाल एसविआइ बैंकले आगामी साधारण सभामा १५.४२ प्रतिशत बोनस शेयर दिएर चुक्ता पुँजी ८ अर्ब ५ करोड रुपैयाँ पुर्याउँदै छ ।

हिमालयन बैंकः हिमालयन बैंकले प्रस्ताव गरेको २५ प्रतिशत बोनस शेयर पछि चुक्ता पुँजी ८ अर्ब ११ करोड रुपैयाँ पुग्ने छ । प्रस्तावित २५ प्रतिशत बोनस शेयर साधारण सभाले पारित गर्न बाँकी रहेको छ ।

जनता बैंकः जनता बैंकले १४.४ प्रतिशत बोनस शेयर दिएर चुक्ता पुँजी ८ अर्ब १० करोड रुपैयाँ पुर्याउँदै छ । बैंकले मर्जरमार्फत पनि चुक्ता पुँजी वृद्धि गरेको हो । बैंकको १४.४ प्रतिशत बोनस शेयर पारित हुन बाँकी रहेको छ ।

स्ट्याण्डर्ड चार्टर्डः स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षमा एफपिओ जारी गरेको थियो । यो वर्ष उसले एक सय प्रतिशत बोनस शेयर दिएर ८ अर्ब २ करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउने भएको छ ।

सनराइज बैंकः सनराइज बैंकले मर्जरमार्फत चुक्ता पुँजी वृद्धि गरेको हो । यस्तै बैंकले यो वर्ष बोनस शेयरमार्फत ८ अर्ब १४ करोड रुपैयाँको चुक्ता पुँजी पुर्याउने भएको छ । बैंकले कार्तिक ३० गते साधारण सभा बोलाएको थियो । तर अदालतको आदेशका कारण सभा स्थगन भएको थियो । बैंकले पौष ३ गते वार्षिक साधारण सभा बोलाएको छ ।

सेञ्चुरी बैंकः सेञ्चुरी बैंकले अल्पाइन डेभलपमेन्ट र सेती फाइनान्सलाई प्राप्ती गरि ७ अर्ब ६८ करोड रुपैयाँ चुक्ता पुँजी पुर्याएको छ । बैंकले आगामी साधारण सभाबाट बोनस जारी गरि तोकिएको चुक्ता पुँजी पुर्याउने छ । बैंकलाई ८ अर्ब रुपैयाँको चुक्ता पुँजी पुर्याउन ३२ करोड रुपैयाँ आवश्यक रहेको छ ।

कुमारी बैंकः कुमारी बैंकको हाल चुक्ता पुँजी ५ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । बैंकले चुक्ता पुँजी वृद्धिका लागि केहि योजना अघि बढाएको छैन ।

बैंक अफ काठमान्डुः बैंक अफ काठमान्डुले लुम्बिनी बैंकसंग मर्ज गरेको थियो । मर्जरसंगै बैंकले ललामीमा बिक्री गर्ने भनिएको संस्थापक शेयर पछि बैंकको चुक्ता पुँजी ६ अर्ब २४ करोड रुपैया पुग्ने छ । बैंकले बोनस शेयरमार्फत ८ अर्ब रुपैयाँको चुक्ता पुँजी पुर्याउने छ ।

सिद्धार्थ बैंकः सिद्धार्थ बैंकले १० बराबर १ कित्ता हकप्रद शेयर जारी गर्नको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । हकप्रद जारी पछि बैंकको चुक्ता पुँजी ७ अर्ब ५० करोड रुपैयाँ पुग्छ । बैंकलाई आवश्यक रहेको ५० करोड रुपैयाँ बोनस शेयरमार्फत समायोजन हुनेछ ।

मेगा बैंकः मेगा बैंकले ६५ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । बैंकले निष्कासन गरेको हकप्रद शेयर पछि बैंकको चुक्ता पुँजी ७ अर्ब ५६ करोड रुपैयाँ पुग्ने छ । बैंकले चुक्ता पुँजी वृद्धिका लागि टुरिजम बैंकसंग मर्जरमा जाने भएको छ ।

सिभिल बैंकः सिभिल बैंकले ४० प्रतिशत हकप्रद निष्कासन गरि चुक्ता पुँजी ७ अर्ब २५ करोड रुपैयाँ पुर्याउने भएको छ । सिभिलको हकप्रद अहिले बिक्री खुल्ला गरिएको छ । बैंकलाई आवश्यक रहेको ७५ करोड रुपैयाँका लागि १० प्रतिशत बोनस शेयर जारी गर्न आवश्यक रहेको छ ।

प्रभु बैंकः प्रभु बैंकले ४० प्रतिशत हकप्रद शेयर जारी गरे पछि बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुग्ने छ । बैंकले मर्जरमार्फत पनि चुक्ता पुँजी वृद्धि गरेको हो ।

एनएमबि बैंकः मर्जरबाट चुक्ता पुँजी वृद्धि गरेको एनएमबि बैंकले एफपिओ जारी गरि चुक्ता पुँजी ७ अर्ब ८ करोड रुपैयाँ पुर्याउने भएको छ । बैंक एफपिओको लागि धितोपत्र बोर्डको स्विकृतिको पर्खाईमा रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x