८० जनाको जब्बो टोली सहित ध्वजावाहक विमान चार्टर गरेर चीन भ्रमणमा राष्ट्रपति
काठमाडौं,११ बैंशाख । राष्ट्रपति विद्यादेवी भण्डारी ८० जनाको जब्बो टोलीको नेतृत्व गर्दै नेपाल बायु सेवा निगमको विमान चार्टर गरेर विहान ११ बजे छिमेकी मित्र राष्ट्र चीन तर्फ प्रस्थान गरेकी छिन् । गणतन्त्र स्थापनापछि राष्ट्रप्रमुखले राष्ट्रिय ध्वजावाहक विमान चार्टर गरेर चीन गएको यो पहिलो पटक हो ।
भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली मुख्य मन्त्री डोरमणी पौडेल सहित विभिन्न उद्योगी व्यावसायी कलाकार लगायत करिब ८० जना रहेका छन्। जसका लागि विमान नै चार्टर गरेर लान लागिएको हो । परराष्ट्र मन्त्रालयका अनुशार चीन भ्रमणका क्रममा नेपालले रेलदेखि सुरुङमार्गसम्मका परियोजनामा चिनियाँ अनुदान ल्याउने प्रयास हुने छ ।
त्यसका लागि बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्बन्धी परियोजनाका ९ वटा सूची तयार पारिएको छ। ल्हासादेखि काठमाडौंसम्मका अन्तरदेशीय विद्युत् प्रसारण लाइन बनाउने र नौबिसेदेखि काठमाडौंसम्म सुरुङ खन्ने प्रस्तावलगायत यसमा छन् ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय वार्ता हुनेछ। त्यसपछि दुवै देशबीच व्यापार तथा पारवहन सन्धिको प्रोटोकलमा हस्ताक्षर हुनेछ । यो हस्ताक्षरपछि नेपालले चीनका चार सामुद्रिक बन्दरगाह र दुई सुक्खा बन्दरगाह प्रयोग गर्ने बाटो खुल्ने छ ।