Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बोटलरको लापरवाहीमा भएको ग्यास प्लान्ट आगलागीको छानबिन गर्न बोटलरहरुकै समिति !

बोटलरको लापरवाहीमा भएको ग्यास प्लान्ट आगलागीको छानबिन गर्न बोटलरहरुकै समिति !

काठमाडौं, पुस ६ । वीरगन्जको सुपर ग्यास बोटलिङ प्लान्टमा ग्यास अनलोड (खन्याउने) बेलामा भएको आगलागीका सम्बन्धमा अध्ययन गर्न एलपी ग्यास उद्योग संघ आफैंले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । संघका पूर्व अध्यक्ष शिवप्रसाद घिमिरे संयोजक रहेको छानबिन समितिमा सदस्यहरु कुशप्रसाद मल्ली, शंकर श्रेष्ठ, कृष्ण भक्त श्रेष्ठ र लक्ष्मी महर्जन सदस्य रहेका छन् । आगामी सोमबारसम्म प्रतिवेदन आउने ग्यास उद्योग संघले जनाएको छ ।
समितिका संयोजक घिमिरे आफैं यसअघि ग्यास सिलिण्डरका फुटरिङ र नेकरिङ काटेर नयाँ सिलिण्डर बनाउने जोखिमयुक्त काम गर्ने अभियोगी हुन् । ग्यास तथा पेट्रोलियम पदार्थजस्ता विस्फोटक पदार्थहरुमा सुरक्षा संवेदनशीलताका अभावमा यस्ता घटनाहरु हुने गरेका छन् । नेपालमा पेट्रोलियम पदार्थको बिक्री वितरणमा एकाधिकार राख्ने नेपाल आयल निगमले यस्ता सुरक्षा ‘कम्प्लायन्स’ का सम्बन्धमा कुनै अनुगमन गर्ने गरेको छैन । ग्यास सिलिण्डर विस्फोटका श्रृंखलावद्ध घटनाहरु यसअघि पनि भएका छन् तर त्यसमा प्रयोगकर्तालाई दोष देखाएर उम्किने गरेका छन् ।
गुणस्तर तथा नापतौल विभागले पनि यस सम्बन्धमा नियामकको भूमिका निर्वाह गर्न सकेको देखिदैंन । ग्यास बोटलिङ प्लान्टमा राख्ने बुलेट तथा सिलिण्डरहरुको हाइड्रोलिक तथा हाइड्रोस्टेटीक टेस्ट समयमा नगर्ने र नगराउने कारण यस्ता दुःखद् घटना हुने गरेका छन् । त्यस्तै बोटलिङ प्लान्टहरु पनि मापदण्ड अनुसार सञ्चालनमा छैनन् । यस्तो अवस्थामा बोटलरकै प्रतिवेदनबाट यी पक्षहरु उजागर हुनेछन् भन्ने विश्वस्त आधार नभएकाले सरकारले नै विज्ञ, सुरक्षा कर्मी, नियामक तथा उपभोक्ता अधिकारवादीहरुसमेत सम्मिलित गरी अध्ययन गराउनु आवश्यक छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x