नेपाली लगानी भएका उद्योग बन्द गरी भारतीय लगानीका उद्योग खोल्दै युनिलिभर
काठमाडौं,८ जेठ । बहुराष्ट्रिय कम्पनी युनिलिभर लिमिटेडले हेटौडा औधोगिक क्षेत्र भित्र रहेका नेपाली उद्योगीहरुको लगानी रहेको सहायक उद्योग बन्द गरी आफैले भारतीयहरुको लगानीमा नयां सहायक उद्योगहरु खोल्न थालेको छ । बहुराष्ट्रिय कम्पनी युनिलिभर लिमिटेडको सहायक उधोग गंगा सोप एन्ड केमिकल इन्डस्ट्रिज एक महिनादेखि बन्द छ ।
उद्योगमा उत्पादित कच्चा पदार्थ युनिलिभरले लिएको छैन भने उद्योग बन्द गरेपछि मजदुरहरूलाई क्षतिपूर्तिस्वरूप दिनुपर्ने रकम पनि युनिलिभरले नदिएको हेटौंडामा उधोग संचालक ईन्द्र बहादुर वानियाले जानकारी दिए । हेटौंडा औद्योगिक क्षेत्र भित्र रहेको युनिलिभर नेपालको तीनवटा सहायक उद्योगमध्ये दुई वटा बन्द गरिएका हुन् ।
युनिलिभरको लागि सनसिल्क र क्लिनिक प्लस सेम्फु उत्पाद गर्दै आएको गंगा सोप उद्योग र युनिक सोपले पाँच किसिमका सर्फहरु उत्पादन गर्दै आएको थियो । युनिक सोप एन्ड केमिकल इन्डस्ट्रिज आठ महिनाअघि नै बन्द भइसकेको छ । उक्त उद्योगमा एक सय २३ जना कामदार कार्यरत थिए । ती दुई उद्योग बन्द गरेर युनिलिभर नेपालले भारतीय लगानी रहेको आर.एम. केमिकल उद्योग खोलेको छ । युनिलिभरबाट सामानको बक्यौतासँगै मजदुरको क्षतिपूर्ती बापत डेढ करोड र गंगा सोपले दुई करोड रुपैयाँ लिन बाँकी रहेको उधोगिहरुको भनाइ छ । युनिलिभरले उद्योग बन्द गर्दा उद्योगी र मजदुरलाई क्षतिपूर्ती उपलब्ध नगराएको भन्दै नेपाली उद्योगी र मजदुरहरु आन्दोलित भएका छन् ।