सार्वजनिक सवारी साधनको भाडादर १२ प्रतिशतले बढ्यो, असार १ देखि लागु हुने

काठमाडौं, ३० जेठ । सरकारले सार्वजनिक सवारी साधनको भाडा १२ प्रतिशतले बृद्धि गरेको छ । आज यातायात व्यवसायी , उपभोक्ता अधिकारकर्मी, सुरक्षा निकायका प्रमुख लगायत सरोकारवालाहरुसँग छलफल गरि यातायात व्यवस्था विभागले सबै खाले सवारी साधनमा लागु हुने गरि भाडादर बृद्धि गरेको हो ।
सवारी साधनको मूल्य, मेकानिकल पार्टस्को मूल्य, श्रमको दर, इन्धनको मूल्यवृद्धि लगायतका आधारमा भाडादर कायम गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दहालले जानकारी दिए ।
यसअघि व्यवसायीले भाडादर समायोजन गर्नुपर्ने माग राख्दै आएका थिए। नयाँ दर अनुसार अव सार्वजनिक सवारी साधन चढ्ने यात्रुले ४ किलोमिटर सम्मको १६ रुपैयाँ भाडा तिर्नु पर्ने छ। यसअघि १४ रुपैयाँ थियो। बढेको भाडादर असार १ गतेबाट लागु हुनेछ ।