Date

मङ्ल, अशोज २९, २०८१
Tue, October 15, 2024

रेमिट्यान्सको वृद्धिदर नकारात्मक, उपभोक्ता मुद्रास्फितिमा चुनावी प्रभाव

रेमिट्यान्सको वृद्धिदर नकारात्मक, उपभोक्ता मुद्रास्फितिमा चुनावी प्रभाव

काठमाडौं, पुस ९ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिको बृहद् आर्थिक परिदृश्य सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार, चालु वर्षको पहिलो चार महिनामा रेमिट्यान्सको वृद्धिदर नकारात्मक भई गत वर्षको भन्दा कम रेमिट्यान्स प्राप्ति भएको छ ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा २२८ अर्ब ९५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जुन गत वर्षको भन्दा १ दशमलव ४ प्रतिशतले ऋणात्मक वृद्धि हो । गत आर्थिक वर्षको सोही अवधिमा अघिल्लो वर्षको तुलनामा ७.८ प्रतिशतले रेमिट्यान्स वृद्धि भई २३२ अर्ब १४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

प्रभाव
रेमिट्यान्स वृद्धि कम हुँदा त्यसको प्रत्यक्ष असर शोधानान्तर स्थितिमा देखिएको छ । राष्ट्र बैंकका अनुसार शोधानान्तर स्थिति २ अर्ब ४० करोड रुपैयाँले धनात्मक छ । रेमिट्यान्समा कमी, प्रत्यक्ष वैदेशिक लगानी र वैदेशिक ऋणको शोधभर्ना प्राप्ति कमजोर भएको खण्डमा भुक्तानी सन्तुलन अर्थात् शोधनान्तर स्थिति कुनै पनि बेला नकारात्मक हुनसक्छ । निर्यातको तुलनामा उच्च आयातका कारण चालु खाता घाटा भने असोज महिनाको २१ अर्बबाट बढेर कात्तिकमा २५ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षमा आयात अधिक बढेको छ । समीक्षा अवधिमा ३३४ अर्ब रुपैयाँको आयात भएकोमा २६ अर्ब रुपैयाँको मात्र निर्यात भएको छ ।
रेमिट्यान्स घटेपछि निक्षेप स्रोतको अभाव झेलिरहेको बैंकहरुको ऋण विस्तारमा थप कठिनाई हुने देखिन्छ ।
उपभोक्ता मुल्यवृद्धिमा चुनावी प्रभाव
चौथो महिनामा उपभोक्ता मूल्यवृद्धि केही माथि गएको छ । गत महिनाको ३.१ प्रतिशत मुद्रास्फितिबाट ३.९ प्रतिशत मुद्रास्फिति कायम भएको छ । चुनावको तयारीका लागि निर्वाचन आयोग र राजनीतिक दलहरुबाट भएको खर्चका कारण उपभोक्ता मुल्यवृद्धि माथि गएको हो । निर्वाचन तयारी लक्षित राजनीतिक दलहरुको खर्च र निर्वाचन आयोगबाट भएको खर्चले विस्तृत मुद्रा प्रदाय बढ्नु मूल्यवृद्धि केही माथि जानुको अर्को कारण हो । राष्ट्र बैंकले तरकारी, मदिराजन्य पदार्थ लगायत अन्य वस्तुमा भएको मूल्यवृद्धिको प्रभावले उपभोक्ता मुद्रास्फिति सूचकांक केही बढेको उल्लेख गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x