मिति सकिनै लाग्दा आवेदकको संख्या बढ्यो, सर्भरमा समस्या
काठमाडौं, २ असार । लोकसेवा आयोगबाट स्थानीय तहका लागि खुला गरिएको विज्ञापनमा आवेदन फाराम भर्ने मिति सकिन लाग्दा आवेदकहरुको सङ्ख्या बढेको छ । आयोगले तोकेको एक्कल आवेदन मिति सकिनै लाग्दा आवेदकहरुको संख्यामा बृद्धि भएको हो ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्ने निर्देशन दिएपछि केही दिन फाराम भर्नेको सङ्ख्यामा कमी आए पनि अहिले फाराम भर्ने समय सकिन लाग्दा भने सङ्ख्यामा वृद्धि भएको जानकारी दिइएको छ । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार फाराम भर्ने समय सकिन लाग्दा आवेदन दिनेको सङख्यामा वृद्धि भएको छ । आज प्रतिमिनेट सय जनाले फाराम भरिरहेका छन् । एकै पटक धेरै सङ्ख्याले फाराम भर्दा आयोगको सर्भरमा चाप देखिएको सूचना अधिकारी सुवेदीले जानकारी दिए ।
मंगलबार राति १२ बजेसम्म एकल दस्तुर र असार १० गतेसम्म दोब्बर दस्तुरमा फाराम भर्न सकिने छ । आयोगले ५१५ स्थानीय तहका लागि विभिन्न नौ हजार १६१ पदका लागि आवेदन फाराम माग गरेको छ । त्यस्तै आयोगले अपेक्षा गरेअनुसार परीक्षार्थीले फाराम नभरेको जनाइएको छ । अहिलेसम्म १ लाख ६२ हजार ३ सय ३३ जनाले फाराम भरेकामा महिलातर्फ ३९ हजार ६ सय ४६, जनजाति १८ हजार ५१, मधेशी १० हजार १४, दलित एक हजार २ सय ३०, अपाङ्ग ७३ र पिछडिएको ५० जना रहेका छन् ।