Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेपालमा अलैंचीको उत्पादन वार्षिक रुपमा बढ्दै, भाउ घट्दा किसान भने चिन्तित

नेपालमा अलैंचीको उत्पादन वार्षिक रुपमा बढ्दै, भाउ घट्दा किसान भने चिन्तित

काठमाडौं, १० पुस । छोटो समयमा राम्रो आम्दानी दिने र निर्यातको पनि उच्च सम्भावना बोकेको कृषि उपज हो अलैची । व्यवसायीहरुका अनुसार नेपालबाट वार्षिक ६ अर्व रुपैयाँ भन्दा बढीको अलैची निर्यात हुने गरेको छ । नेपालमा पूर्वी पहाडबाट शुरु भएको अलैँचीको व्यवसायीक खेती ४० जिल्लामा फैलिइसकेको छ ।

पछिल्लो समय यस खेतीतर्फ किसानहरुको आकर्षण बढ्दो छ । तर वार्षिक रुपमा अलैचीको भाउ भने घटिरहेको छ । केही वर्ष अघि सम्म प्रतिकेजी २५ सय रुपैयाँ पर्ने अलैंचीको मूल्य अहिले १२ सय रुपैयाँमा पनि बिक्री गर्न नसकेको किसानहरुको गुनासो छ । जसले गर्दा यस खेतीतर्फ आकर्षित किसानहरुमा केही निराशा थपेको छ । एक अध्ययन अनुसार अलैँची खेती गर्न समुद्री सतहबाट ७०० मिटरदेखि २२०० मिटरसम्मको उचाइ, ८ देखि २० डिग्री सेल्सियस तापक्रम, दोमट माटो र वार्षिक १५०० देखि ५००० मिलिमिटर वर्षा हुने सेपिलो ठाउँ उपयुक्त मानिन्छ । यी विशेषताका आधारमा पनि नेपालका पहाडि जिल्लाहरुमा यसको प्रशस्त सम्भावना रहेको छ । राज्यले यस खेतीतर्फ आकर्षित गर्न अलैचीको राष्ट्रिय नीति बनाउने र सहयोग रकमलाई बढाउने हो भने अलैची खेतीमा लाग्नेको संख्या थप बढ्ने अलैची व्यवसायी महासंघका उपाध्यक्ष राजकुमार कार्कीले बताए ।

हाल सम्म नेपालमा उत्पादित अलैचीको मुख्य बजार भारत हो । तर पछिल्लो समय भारत आफैले पनि अलैची उत्पादनमा बृद्धि गर्दै लगेपछि व्यवसायीहरु निकासीका लागि तेस्रो गन्तव्यको खोजीमा छन् । साउदी अरब, दुवई, कतार, मलेसिया लगायतका देशमा अलैंचीको माग धेरै हुने हुदाँ अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैचीको पहुँच विस्तार जरुरी भएको उनले बताए ।

अलैंची विभिन्न प्रकारका मसला, बिस्कुट, बेकरी, सुगन्धित तेल तथा औषधी बनाउन प्रयोग हुने गर्दछ । नेपाली उत्पादनको निकासी बढाउन सरकारले पनि अलैंचीको सामूहिक व्यापार चिन्ह प्रदान गरिसकेको छ । सरकारले ’एभरेस्ट बिग कार्डमम’ नामबाट अलैची निकासी गर्ने निर्णय गरिसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x