पोखरा फाइनान्सको १५ प्रतिशत हकप्रद पौष ३० बाट
काठमाडौं, १२ पौष । पोखरा फाइनान्सले १ बराबर ०.१५ कित्ता अर्थात १५ प्रतिशत हकप्रद शेयर पौष ३० गते देखी बिक्री खुल्ला गर्ने भएको छ ।
फाइनान्सले एक सय रुपैयाँ अंकित मुल्य भएको ९ करोड ८३ लाख ६८ हजार २७४ रुपैयाँ बराबरको ९ लाख ८३ हजार ६८२.७४ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटललाई नियुक्त गरेको छ ।
पोखरा फाइनान्सको २०औं वार्षिक साधारण सभाले हकप्रद शेयर निष्कासनको प्रस्तावलाई पारित गरेको थियो । हकप्रद शेयरको पुँजीकरण पछि फाइनान्सको चुक्ता पुँजी ६५ करोड ५७ लाख रुपैयाँबाट बढेर ७५ करोड ४० लाख रुपैयाँ पुग्नेछ । फाइनान्सले यस अघि एपिओमार्फत चुक्ता पुँजी वृद्धि गरेको थियो । यद्यपी फाइनान्सलाई तोकिएको चुक्ता पुँजी पुर्याउन थप ४ करोड ६० लाख रुपैयाँ आवश्यक पर्ने भएको छ । राष्ट्र बैंकको अनुसार राष्ट्रिय स्तरको वित्त कम्पनीहरुको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ ।
फाइनान्सले हकप्रद शेयर निष्कासनको लागि पौष १३ गते शेयर दर्ता पुस्तिका बन्द गर्ने भएको छ । पौष १२ गतेसम्म फाइनान्सको शेयर किन्ने शेयरलगानीकर्ताहरुले हकप्रद शेयरको लागि आवेदन दिन सक्नेछन् । फाइनान्सको हकप्रद शेयरको लागि फाल्गुन ६ गतेसम्म आवेदन दिन सकिने छ ।