गत वर्ष कैलालीको त्रिनगर भन्सार कार्यालले ५ अर्व १९ करोड राजस्व संकलन
धनगढी, ९ साउन । सुदूरपश्चिमकै प्रमुख नाका कैलालीको त्रिनगर भन्सार कार्यालय राजस्व संकलनमा लक्ष्यको नजिक पुगेको छ। आर्थिक वर्ष ०७५÷०७६ मा ९९.५४ प्रतिशत राजस्व संकलन गरेर लक्ष्यको नजिक पुगेको हो । कैलाली भन्सार नाका भएर भारतबाट सामान आयात हुने दर वर्षेनी बढ्दो छ । कार्यालयले ५ अर्व २२ करोड १३ लाख ४६ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य थियो । तर ५ अर्ब १९ करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको छ ।
भारतबाट सबैभन्दा बढी मूल्यको पेट्रोलियम पदार्थ आयात भएको छ । गत वर्ष संकलित कुल राजस्वको ४७ प्रतिशत पेट्रोलियम पदार्थबाट भएको भन्सार कार्यालयले जनाएको छ । यस्तै सात प्रतिशत राजस्व बिस्कुट आयातबाट संकलन भएको छ। जिल्ला भन्सार मातहत रहेका सत्ती र पृथ्वीपुर छोटी भन्सार कार्यालय गत वर्षदेखि छुटै भन्सारको रुपमा स्थापना हुनु तथा केही समय यता तरकारी आयात प्रभावित हुनुले पनि राजस्व संकलनमा प्रभाव पारेको भन्सार कार्यालयले जनाएको छ ।खुला सिमानाका कारण भारतबाट सामान अवैध आयात हुने गरेको छ ।५ करोड १० लाख बराबरको राजश्व छलीका सामान बरामद भएको छ। सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कार्यालय आफ्नै गस्ती टोलीले कर छली गरि भित्र्याइदैँ गरेका व्यापारिक सामग्रीहरु बरामद गरेका हुन्।
कैलाली त्रिनगर भन्सारबाट निर्यात भने कत्था, कच, टर्पेनटाइन र रोजिन मात्र निकासी हुने गरेकोछ। भारत निर्यात भएका सामानको कुल मूल्य ७८ करोड ६३ लाख रुपैयाँ मात्रै राजस्व संकलन भएको छ। भारतबाट सामान आयात हुने दर बढ्दो छ भने निर्यात न्युन छ। सुदूरपश्चिममा ठूला उद्योग,कलाकारखाना स्थापना भए निर्यातको पनि राजस्व संकलनमा बृद्धि हुने सम्भावना उच्च छ।