Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सात अर्ब २० करोड खुद मुनाफामा विद्युत प्राधिकरण

काठमाडौै,२८ साउन । सरकारी स्वामित्वका संस्थान नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक बर्ष २०७५ ।०७६ मा रु सात अर्ब २० करोड खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा प्राधिकरणको मुनाफा १४९ प्रतिशतले बढी हो । पछिल्ला तीन बर्ष यता प्राधिकरण लगातार नाफाको उक्कालो चढदै आएको छ । यसै गरी प्राधिकरणले गत आवमा विद्युत चुहावाटमा पनि कमी ल्याएको छ । तीन वर्षको तथ्याङ्क हेर्दा प्राधिकरणको चुहावट निरन्तर न्यूनीकरण हुँदै आएको छ । प्राधिकरणले गत आर्थिक वर्षमा विद्युत् चुहावटलाई १५.३२ प्रतिशतमा राख्न सफल भएको छ । जुन अघिल्लो आर्थिक वर्षको २०.७८ प्रतिशतको तुलनामा ५.१३ प्रतिशतले कमी हो । आव २०७२÷७३ मा कुल चुहावट २५.७८ प्रतिशत रहेकामा तीन वर्षभित्र १०.४६ प्रतिशतले कमी आएको छ ।

प्राधिकरणको वार्षिक उपलब्धिका बारेमा जानकारी दिन आज ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रणमा झण्डै दक्षिण एसियाली मुलुककै तुलनामा पुगिएको जानाकारी दिए । “दक्षिण एसियाली मुलुकमा करीब १० प्रतिशत चुहावटलाई एउटा मापदण्ड तोकिएको छ, हामी करीब सो मापदण्डमा टेक्ने अवस्थामा पुगेका छौँ” उहाँले भन्नुभयो, “चुहावट घटाउन सक्ने अवस्थामा छौँ, चुहावट रोक्न प्राविधिक सुधार गर्नुपर्ने भएकाले केही समय लाग्न सक्छ ।” चुहावट नियन्त्रणमा उल्लेख्य सफलता मिलेकाले पनि खुद नाफा वृद्धिमा टेवा पुगेको हो ।प्राधिकरणले सरकारको ढुकुटीमा रु १५ अर्ब ५९ करोड दाखिला गरेको छ । प्राधिकरणले विद्युत्को पहुँच पनि विस्तार गर्दै लगेको छ । पछिल्लो उत्पादन, प्रसारण र वितरणमा केन्द्रित भएको प्राधिकरणले विद्युतीकरणलाई प्राथमिकतामा राखेको छ । गत वर्षसम्म राष्ट्रिय प्रसारणमा आबद्ध भई विद्युत् उपभोग गर्ने जनसङ्ख्या करीब ७८ प्रतिशत पुगेको प्राधिकरणले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x